OSNepal शनिबार, माघ ८ २०७८

रामचन्द्र पौडेललाई कडा झड्का, कांग्रेस कास्कीको सभापतिमा देउवा निकट बराल विजयी

रामचन्द्र पौडेललाई कडा झड्का, कांग्रेस कास्कीको सभापतिमा देउवा निकट बराल विजयी

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


रामचन्द्र पौडेललाई कडा झड्का, कांग्रेस कास्कीको सभापतिमा देउवा निकट बराल विजयी
Reading Time: 2 minutes

पोखरा, १२ मंसिर । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन् । उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए । दोश्रो चरणको मतदानमा शनिबार १ हजार ९ सय २६ मत खसेको थियो ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले ५० प्रतिशत मत कटाउन सकेनन् । त्यसैले धेरै मत ल्याएका आधारमा २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन् ।

पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए । ‘रिङ आउट’ भएका अन्य ३ जनाले भट्टराईलाई जिताउन विज्ञप्ती जारी गरेपनि त्यो अभियान सफल हुन सकेन । आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम पहिलो चरणबाटै बाहिरिएका थिए ।

बराल केन्द्रमा शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा पहिलो जीत हो । निर्वाचित भएपछि बरालले गुटको पछि नलागी कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता जनाए ।

‘मलाई विश्वास गरेर विजयी गराउनुभएको छ । म विश्वास टुट्न दिन्नँ,’ उनले भने, ‘कांग्रेस निर्माणको अभियानमा सुदीप जी र म सँगै हुन्छौं । हामी एउटै डुंगामा छौं ।’ बराल पोखराको भद्रकाली क्याम्पसको संस्थापक क्याम्पस प्रमुख थिए भने शिक्षक संघको नेतृत्व गरेर पनि काम गरिसकेका छन् ।

पार्टीभित्र बौद्धिक नेताको छवी बनाएका बराल कांग्रेसको नवौं र दशौं अधिवेसनमा कास्की क्षेत्र नम्बर २ को सभापतिमा पराजीत भएका थिए । विशेष गरी नेताहरुलाई उद्यमशिल बनाउनुपर्ने र एग्रो टुरिजमलाई अभियानको रुपमा उनले चलाएका छन् ।

पराजीत भएका भट्टराईले पनि यो विधान कार्यान्वयन मात्रै भएकोले आफु कांग्रेसको अभियानमा निरन्तर रहेको बताए । ‘यो परिणामले कांग्रेसलाई नयाँ अध्यायको रुपमा परिणत गरेको छ । खस्केको जनमत र साखलाई उचाईमा पु¥याउन नयाँ नेतृत्व सफल होस्,’ उनले भने, ‘हामी लोकतन्त्रवादी हौं । विधानले व्यवस्था गरेको बैधानिक बाटोबाट नेतृत्व चयन ग¥यौं । तथापी कांग्रेसको उचाई प्राप्त गर्न नयाँ टिमलाई शुभकामना ब्यक्त गर्दछु ।’

पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड