माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व — OSNepal

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

LC (KTM) November 28, 2021 0

खोटाङ, १२ मङ्सिर-नेकपा (माओवादी केन्द्र) खोटाङलेका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका/नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामाा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा रामकुमार हिङ्माङ रहनुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा राजुविक्रम चाम्लिङको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा प्रदीप माइला, प्रदीप गिरी र कन्ठ कार्की, सचिवमा प्रमिला बस्नेत, सहसचिवमा गण राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन हुनुभएको प्रेस सेन्टर नेपाल खोटाङका उपाध्यक्ष अशल चरित्र राईले जानकारी दिनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा किसान राई, खड्गबहादुर तामाङ र नैनकुमारी खत्री, सचिव दीपक पौडेल, सहसचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन हुनुभएको प्रेस सेन्टर नेपाल खोटाङका सदस्य तजिना मगरले जानकारी दिनुभयो । रावाबेंसी गाउँपालिकामा रामबहादुर राई ‘बाबुराम’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिव उदिम चाम्लिङ, सहसचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कटवाल चयन हुनुभयो ।

साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा बृसिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिवमा धनबहादुर राई र कोषाध्यक्षमा उन्नत राई चयन हुनुभएको प्रेस सेन्टर खोटाङका सल्लाहकार उजुर राईले जानकारी दिनुभयो ।

खोटेहाङ गाउँपालिकामा दीपेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा धनबहादुर महाराजी, इन्द्रहाङ राई र सुशीला राई, सचिवमा वसन्त राई, सहसचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी सर्वसम्मत चयन हुनुभएको माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिनुभयो ।

बराहपोखरी गाउँपालिकामा युवराज मगरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा कमला राई, ताराकान्त राई र राजन राई, सचिव अर्जुन तामाङ, सहसचिव ध्रुवजीत राई र कोषाध्यक्ष गणेश परियार चयन हुनुभएको जनाइएको छ । ऐँसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिवमा रमेश राई र कोषाध्यक्षमा चमेली विश्वकर्मा चयन हुनुभएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भीम राईले जानकारी दिनुभयो ।

केपिलासगढी गाउँपालिकामा रुद्रकुमार राईको अध्यक्षतामा ५५ सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामकाजी राई, कुमार परिवार र विष्णु राई, सचिवमा समिप साम्पाङ, सहसचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन हुनुभएको माओवादी केन्द्रले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिकामा बद्री राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा खड्गबहादुर राई र देवीमाया राई, सचिव नइन्द्र राई र सहसचिवमा नेत्र श्रेष्ठ चयन हुनुभएको र एक उपाध्यक्ष र कोषाध्यक्ष समितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।

अधिवेशनबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यलाई अधिवेशनमा खटिनुभएका नेताले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनका अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिनुभयो । दश स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा माओवादी केन्द्रका पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिनुभयो । जिल्लामा वडा तथा गाउँ÷नगर अधिवेशनलगत्तै सदस्यता वितरणको कामलाई तीव्रता दिइने माओवादी केन्द्र खोटाङले जनाएको छ ।

ताप्लेजुङका आठ स्थानीय तहमा नयाँ नेतृत्व -फुङ्लिङ– ताप्लेजुङमा नौ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने सोमबार अधिवेशन गर्ने तयारी रहेको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक विजयप्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अध्यक्षमा गङ्गाराम शङ्कर चयन हुनुभएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मुक्ति लावुङ, मेरिङ्देन गाउँपालिकामा सुजन सामेखाम, आठराई त्रिवेणी गाउँपालिकामा घननाथ गौतम (घनु), सिदिङ्वामा अमर इदिङ्गो, मैवाखोलामा आलोक शेर्पा, पाथीभरा याङ्वरकमा दिलीप पौडेल र सिरिजङ्गामा चित्र मावो अध्यक्ष रहेको कमिटी बनेको छ । भोलिसम्म मिक्वाखोलाको अधिवेशन सकिएसँगै माओवादी केन्द्रले ताप्लेजुङका सबै स्थानीय तहमा पालिका समन्वय कमिटीमा नयाँ नेतृत्व चयन गरिसक्ने नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

चार गाउँपालिकामा अधिवेशन सम्पन्न-पाँचथर– पाँचथरका चार वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ ।जिल्लाको फालेलुङ, याङवरक, कुम्मायक र तुम्बेवा गाउँपालिकामा अधिवेशनमार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो । फालेलुङ विद्धिमान सावदेनको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा तिलबहादुर खत्री, रामप्रकाश राई र पदम केरुङ, सचिवमा सुरेन्द्र अधिकारी र कोषाध्यक्षमा रिजा जबेगु (माङ्मु) चयन हुनुभएको छ ।

याङवरक गाउँपालिकामा माओवादी केन्द्रले अर्जुन बेघाको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीका उपाध्यक्षमा महेन्द्र योङया, इन्दिरा पोखरेल र तेजेन्द्र राई, सचिवमा सूर्य बेघा, सहसचिवमा तेजकुमार बेघा र कोषाध्यक्ष शान्ति लिम्बू रहनुभएको छ ।

कुम्मायक गाउँपालिकामा उक्त पार्टीले महेन्द्रबहादुर खड्काको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा सोम तामाङ, गीता खड्का र डुकेन्द्र चेम्जोङ, सचिवमा प्रविण निरौला, सहसचिवमा महेन्द्रसुन्दर कार्की र कोषाध्यक्षमा प्रविन चापागाईं चयन हुनुभएको छ ।

यस्तै तुम्बेवा गाउँपालिकामा माओवादी केन्द्रले खड्ग सम्बाहाम्फेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा टङ्कबहादुर शेर्मा, शहरसिंह तामाङ र सुस्मा आङ्देम्बे तथा सचिवमा ख्यामबहादुर निरौला चयन हुनुभएको छ ।बाँकी रहेका हिलिहाङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा आज तथा फिदिम नगरपालिकामा भोलि अधिवेशन तय गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिवालय सदस्य दीपक दुलालले जानकारी दिनुभयो । माओवादी केन्द्रको स्थानीय तहस्तरीय अधिवेशन सम्पन्न गर्न उक्त पार्टीका नेता गाउँपालिकाका केन्द्र पुगेका छन् ।

बागलुङका सात पालिकामा नयाँ नेतृत्व-बलेवा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत बागलुङका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि सुरु भएको पालिका अधिवेशनबाट जिल्लाका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

बागलुङ नगरपालिकामा इन्द्र केसी (पारस)को अध्यक्षतामा नगरकमिटी गठन भएको हो । कमिटीको सचिवमा राजु खड्का चयन हुनुभएको छ । जैमिनी नगरकमिटीको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मा, ढोरपाटन नगरकमिटीको अध्यक्षमा भीम गौतम र सचिवमा वीरबहादुर घर्ती चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले बताउनुभयो ।

निसीखोला गाउँकमिटीको अध्यक्षमा कुवीर विक र सचिवमा कुशल बुढा, ताराखोला गाउँकमिटीको अध्यक्षमा दिवस खत्री र सचिवमा फूलमायाँ पुन, काठेखोला गाउँकमिटीको अध्यक्षमा कृष्ण थापा र बडीगाड गाउँकमिटीको अध्यक्षमा मिलन रेश्मी र सचिवमा वीरेन्द्र बुढा चयन हुनुभएको छ । शनिबार नै अधिवेशन उद्घाटन भएको गलकोट र तमाखोलामा आज मात्रै बन्दसत्र सुरु हुनेछ । बरेङ गाउँकमिटीले भने मङ्सिर १८ गतेका लागि भेला बोलाएको छ । “पार्टीको विधानअनुसार समावेशी कमिटी बनेका छन्”, गैरेले भन्नुभयोे, “दलित, जनजाति, महिला र युवाको उत्साहजनक सहभागिता रहेको छ ।” यो पटक माओवादीले दलित १५ प्रतिशत, महिला ३५ प्रतिशत र युवासमेत अनिवार्य सहभागी रहनेगरी कार्यसमितिको कोटा तोकेको जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।

पाँच पालिकामा नेतृत्व चयन -म्याग्दी– नेकपा (माओवादी केन्द्र)को म्याग्दीका पाँच वटा स्थानीय तहमा शनिबार नेतृत्व चयन भएको छ । बेनी नगरपालिका, मङ्गला, रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा शनिबार भएको प्रथम अधिवेशनबाट निर्विरोध नेतृत्व चयन भएको हो ।

शेरबहादुर केसीको अध्यक्षतामा गठन भएको बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिवमा ज्ञानेन्द्र सुवेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिवमा किसान विक रहनुभएको छ । यामबहादुर रोकाको अध्यक्षतामा गठन भएको मङ्गला गाउँपालिका कमिटीको उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिवमा तीर्थलाल विक, सहसचिवमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतीलाल पौडेल चयन हुनुभएको छ ।

दोरण शेरचनको अध्यक्षतामा चयन भएको मालिका गाउँपालिकाको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धिबहादुर जुग्जाली, सचिवमा धनकुमार पाइजा, सहसचिवमा शिव दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल रहनुभएको छ । यामन रोकाको अध्यक्षतामा गठन भएको धवलागिरि गाउँपालिका कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया विक, सचिवमा रेशम पुन, सहसचिवमा चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ । मौवाफाँटमा भएको रघुगङ्गा गाउँपालिकाको अधिवेशनले हरि भण्डारीको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिवमा भविन्द्र शेरपुञ्जा, सहसचिवमा कर्ण राना निर्वाचित हुनुभएको छ ।

सबै पालिकामा पदाधीकारी, सदस्य र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो । “४५ वटै वडामा नेतृत्व चयन भइसकेको छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण गाउँपालिकामा थप तयारी गरेर केही दिनमै अधिवेशन हुन्छ ।” सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी चयन भएको हो । ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व भएको संयोजक जुग्जालीले बताउनुभयो । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ ।

दोगडा र सिगासमा सर्वसम्मत नयाँ नेतृत्व -बैतडी– नेकपा (माओवादी केन्द्र)ले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ । शनिबार सुरु भएको पालिका अधिवेशनअन्तर्गत जिल्लाको दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो ।

सम्मेलनबाट दुवै स्थानीय तहमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन भएको हो । दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जनाएको छ । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त विष्टलगायत अन्य सदस्य रहेका छन् ।

यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । सो कमिटीको उपाध्यक्षमा उद्धव धाँमी, लक्ष्मण धाँमी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धाँमी, सहसचिवमा दानसिंह साउँद चयन भएका छन् । अन्य बाँकी आठ पालिकामा पनि मङ्सिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ । माओवादी केन्द्रले पहिलो पटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवत्रूपमा समिति बनाइएको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

तनहुँका पालिकामा नयाँ नेतृत्व-दमौली– नेकपा (माओवादी केन्द्र)ले तनहुँका सबै पालिकामा एकैसाथ अधिवेशन गरेको छ । जिल्लाका दशवटै पालिकामा माओवादी केन्द्रले एकसाथ अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशन सम्पन्न भएर केही पालिकामा नेतृत्व चयन भइसकेको छ भने केही पालिकामा सहमतिको प्रयास भइरहेको जनाइएको छ ।
भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल चयन हुनुभएको छ । अधिवेशनबाट कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थाप चयन हुनुभएको छ ।

ऋषिङ गाउँ कमिटीको अधिवेशनबाट वीरबहादुर थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी र सात सदस्यीय सल्लाहकार कमिटी गठन गरेको माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिनुभयो । गाउँकमिटीको उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला अलो, बसन्त सदाशङ्कर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन हुनुभएको हो ।म्याग्दे गाउँकमिटीको अधिवेशनबाट दिलबहादुर नेपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, डण्डमान श्रेष्ठ, सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशङ्कर र कोषाध्यक्षमा शुकराम नेपाली चयन हुनुभएको छ ।

घिरिङ कमिटीको अध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा गोविन्दराज काफ्ले, विनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन हुनुभएको छ । शुक्लागण्डकी नगरकमिटीको अधिवेशनले पदाधिकारीबाहेक सदस्य चयन गरेको छ । पदाधिकारीपछि तोक्नेगरी ६५ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको माओवादी शुक्लागण्डकी नगर कमिटीका नेता मनराज गुरुङले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर