प्रसूति व्यथा लागेपछि साइकलमा हुँइकिएर अस्पताल पुगिन् यी सांसद — OSNepal

प्रसूति व्यथा लागेपछि साइकलमा हुँइकिएर अस्पताल पुगिन् यी सांसद

LC (KTM) November 29, 2021 0

वेलिंगटन, १३ मंसिर – प्रसूति व्यथा लागेका महिलाहरु सामान्यतया केही दिनदेखि अस्पतालमा भर्ना हुन्छन् । सुत्केरीपूर्व नै महिलाको स्वास्थ्य र पेटको वच्चाको अवस्था हेरेर प्रसूति वार्डमा उपचार हुन्छ । तर, न्युजिल्यान्डकी एक सांसद भने प्रसूति बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् ।

अस्पताल पुगेको एक घन्टा नबित्दै उनले शिशु जन्माएकी छिन् । ‘सुत्केरी बेथा लागेको बेला साइकल चलाएर अस्पताल जाने मैले कुनै योजना गरेकी थिइन, तर त्यही भयो,’ ग्रीन पार्टीकी सांसद जुली एनी जेन्टरले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।

पार्टीको यातायात मामिला प्रवक्तासमेत रहेकी उनी प्रसूति व्यथा लागेपछि साइकलमा चढेर अस्पताल गएको पहिलो पटक भने होइन । तीन वर्षअघि मन्त्री हुँदा पनि उनी गर्भवती भएकी थिइन् र सुत्केरी व्यथा लागेपछि साइकलमा नै अस्पताल हुइकिएकी थिइन् । अस्पतालको एउटा कार पार्कमा उनले पतिसँगको फोटो फेसबुकमा सेयर गरेकी छिन् ।

साइकल चढेर अस्पताल जाने निर्णयले आफूलाई कुनै लाज नलागेको उनले बताइन् । उनी साइकल अभियन्ता पनि हुन् । वातावरण स्वच्छ र सफा राख्न पेट्रोल तथा डिजेलमा चल्ने गाडीको सट्टा साइकल चलाउनु पर्ने उनको जोड छ ।

न्युजिल्यान्डमा यसअघि अन्य बहालवाला सांसदलाई सन्तान लाभ भएको थियो । सन् १९८३ मा एक जना सांसद दुधे बच्चा लिएर संसद भवन पुगेकी थिइन् । त्यस्तै, सन् २०१८ मा जसिन्डा आर्डनले प्रधानमन्त्री हुँदा नै बच्चा जन्माएकी थिइन् । उनले दुधे बच्चा बोकेर संसद भवनमा पनि पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर