गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक पूजा — OSNepal

गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक पूजा

LC (KTM) November 29, 2021 0

काठमाडौँ, १३ मङ्सिर -दुई दिने जात्राअघि गुह्येश्वरी मन्दिरमा आइतबार रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको छ । गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुह्येश्वरी जात्राका लागि हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति आइतबार दिउँसो नै गुह्येश्वरी पु¥याइएको थियो ।

रातभर गुप्ति पूजाको प्रक्रिया सकेपछि आज बिहान ११ बजे विशेष पूजा गरी खटलाई यात्राको अनुमति दिइएको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो । यो जात्रामा गुठी संस्थान र समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबिज चढाएर पूजा आराधना गरिन्छ ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रुपमा पुजिने भएकाले दुवै मूर्ति उस्तै रहेका छन् । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रुपमा पूजिने पुजारी जैन कर्माचार्यले बताउनुभयो । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिएको छ ।

तान्त्रिक विधिले पूजा चलिरहेका बेला आइतबार रातभर गुह्येश्वरी मन्दिरमा धुनी जगाइएको थियो । मूर्तिलाई गुह्येश्वरीको गर्भगृहमा राखेर पूजा आराधना गरिएको थियो । दुवै मूर्ति उस्तै भएकाले तलेजुलाई पनि स्थानीयवासीले गुह्येश्वरी भनी मान्ने गरेका छन् । ह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताउनुभयो । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ ।

गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्य रुपमा जात्रा मनाउन लागिएको छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइएको छ । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ ।

पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ । आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै आज बेलुकी छ बजे यो लिङ्गो ढाल्ने परम्परा छ । जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर