OSNepal बिहिबार, माघ ६ २०७८

भानुमतिको प्रचार गर्न राउतकाे ११ दिने ध्यान

भानुमतिको प्रचार गर्न राउतकाे ११ दिने ध्यान

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


भानुमतिको प्रचार गर्न राउतकाे ११ दिने ध्यान
Reading Time: < 1 minute

खोटाङ, १४ मंसिर – खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका खगेन्द्र राउत धार्मिक तथा पर्यटकीयस्थल भानुमतिको प्रचार प्रसार गर्ने उदेश्यले ११ दिन ध्यानमा बसेका छन् । आफू शिवभक्त भएकाे दाबी गर्दै उनी जन्तेढुंगा गाउँपालिका-५ चिसापानीस्थित सावाखोला किनारमा रहेको भानुमति मन्दिरमा ध्यानमा बसेका हुन् । भारतको काशीको झैं धार्मिक अस्तित्व बोकेको याे मन्दिर प्रचारप्रसार अभावमा ओझेल परेपछि उनी ६ मंसिरदेखि ध्यानमा बसेका हुन् । उनकाे ध्यान १७ मंसिरमा सकिँदै छ ।

सात वर्षदेखि अन्न नखाएकाे दाबी गर्ने राउतले यसअघि पाथीभरामा चार दिन, हलेसीमा तीन दिन तीन रात, बराहपोखरीमा १८ घण्टा ध्यानमा बसिसकेकाे बताएका छन् ।लिकुवापोखरीको लेगुवामा नाै रात नाै दिन गुफा बसेका उनी यसपटक भानुमतितर्फ सबैको ध्यान तान्न ध्यानमा बसेको स्थानीयले बताएका छन् ।

भानुमतिलाई भानुमति गंगा पनि भन्ने गरिन्छ । दक्षिणबाट उत्तरतर्फ बगेकाे खाेला भएकाले यस स्थानलाई उत्तर वाहिनी पनि भन्ने गरिन्छ । काशी पुग्न नसक्ने तिर्थयात्री भानुमतिमा पुगेर पूजाआजा गर्ने गरेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए । ‘काशीमा पुग्ने नेपालीलाई भारतीयले काशी त नेपालमै छ । किन यहाँ आएको भन्दा रहेछन्,’ विष्टले भने, ‘यत्तीको महत्वपूर्ण धार्मिकस्थल भए पनि भानुमति ओझेलमा छ । राज्यले यसलाई देखेको छैन ।’

पुरानो महादेवकाे मन्दिर मात्रै रहेको भानुमतिमा सभापति विष्टकै पहलमा पुरातत्व विभागबाट आर्थिक वर्ष २०७७/०७८ मा प्राप्त १९ लाखबाट नयाँ मन्दिर निर्माण गरिएको छ । सो मन्दिरमा पार्वती वा गणेशमध्ये एकको मुर्ति राख्ने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड