OSNepal शनिबार, माघ ८ २०७८

देख्दै आँखा रसाउने अबस्था : खाजा खान पाइने आशमा जाडोमा काम्दै विद्यालय जान्छन् चेपाङ बालबालिका

देख्दै आँखा रसाउने अबस्था : खाजा खान पाइने आशमा जाडोमा काम्दै विद्यालय जान्छन् चेपाङ बालबालिका

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


देख्दै आँखा रसाउने अबस्था : खाजा खान पाइने आशमा जाडोमा काम्दै विद्यालय जान्छन् चेपाङ बालबालिका
Reading Time: 2 minutes

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् ।खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन् ।

घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो । नत्र हातमुख जोर्ने अर्को कुनै विकल्प छैन भन्छन् कालीबहादुर । ‘आफ्नो खेतबारी छैन । भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न पनि फल्दैन । बाँकी समय हामी त भोकै हो । हामी गरिबलाई कसले हेर्छ र ?’ उनी भन्छन् ।

मैलो फाटेका केही पुराना लुगाको भरमा वर्षौं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेको विद्यालयमा जाँदासमेत पुरानो लुगा र खाली खुट्टामा जाने गर्दछन् । कालीबहादुरको परिवारमात्र होइन, सिमथलीका चेपाङ समुदायको दुःख करिब उस्तै छ । घरमा खानेकुरा छैन । जाडो मौसममा आगोको भरमा रात काट्नुपर्छ भने विद्यालय जानेहरुले दिउँसोको खाजाको भरमा रात काट्नुपर्छ ।

सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था हेर्ने हो भने पनि उस्तै छ । अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन् । विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा बस्छन् ।

विद्यालयका शिक्षक अप्सरा मैनालीका अनुसार अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देखिन्छ ।

गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडौंका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरु त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरुको दैनिकी भइसकेको छ ।

विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरु झनै समस्यामा छन् । नियमित विद्यालय आउने छ वर्षीय डेप चेपाङ र आठ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो । बाबु घरमै आउँदैनन् । ज्याला गर्न गएर १०/१५ दिनमा फर्किन्छन् । मामाघरमा हजुरआमासँग बसेका उनीहरुको हालत खराब छ । विद्यालयको खाजामा जीवन चलेको छ । लगाउने लुगा छैन । जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ ।

प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उहाँको भनाइ छ । घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् ।

छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।

बुवालाई खोलाले बगाएर मृत्यु भएपछि कठिन संघर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमायाँ चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ । घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथा जस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरुले एक छाक खानसमेत उस्तै अवस्था छ ।स्थानीय सरकार आएको चार वर्ष वितिसक्दा पनि अझैसम्म उनीहरुको आर्थिक अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड