रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा सुरु, यस्ताे छ तयारी — OSNepal

रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा सुरु, यस्ताे छ तयारी

LC (KTM) December 03, 2021 0

जनकपुर,१७ मंसिर । मिथिलाञ्चल क्षेत्रको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी मेला शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाह पञ्चमी मेलाकोे आकर्षणको केन्द्रविन्दु रहने जानकी मन्दिरलाई रंगरोगन गरिएको छ । मन्दिर प्रांगणमा सीतारामको चरित्रसम्बन्धी कथा प्रवचन सुरु भइसकेको छ ।

हिन्दुहरूको अराध्यदेव सीतारामको विवाहोत्सवको रूपमा मनाइने विवाह पञ्चमीमा भाग लिन भारतीय सन्त महन्थहरू जनकपुर आइपुगेकाे जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए । विवाह पञ्चमीभन्दा एक दिन अगाडि भारतबाट जन्तीको रूपमा हजारौँ सन्त महन्थ जनकपुर आउने गर्छन् । तर यस वर्ष कोरोनाको महामारी कायमै रहेकाले न्यून संख्यामा भारतबाट साधुसन्त आउने भएका छन् ।

पञ्चमीका दिन जनकपुरका जानकी मन्दिरका अतिरिक्त सुन्दर-सदन (रामजानकी मन्दिर), झुलन कुञ्ज, युगलविनोद कुञ्ज, प्रेम कुट्टीसहितका मठमन्दिरमा मैथली परम्पराअनुसार सीतारामको वैवाहिक कार्यक्रमको आयोजना हुने गरेको छ । ती मन्दिरहरूमा समेत विवाह पञ्चमीको तयारी भइरहेको सुन्दरसदनका महन्थ नवलकिशोर शरणले बताए । जनकपुरमा सबैभन्दा बढी तीर्थालुको आगमन हुने यस महोत्सवमा एक लाखभन्दा श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ । तीर्थालुका लागि बस्ने, दिशा पिसाब गर्ने तथा पिउने पानी तथा सरसफाइ लागि जनकपुरधाम उपमहनगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र युवा क्लबहरूले संयुक्त्त रूपमा लिएका छन् ।

सात दिवसीय रामजानकी विवाह महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शनको कार्यक्रम छ । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई जानकी मन्दिरको प्रागंणबाट गाडी जनकपुरधामको परिक्रमा गराई नगर दर्शन गराइन्छ । नगर दर्शनमा पनि महिलाहरूले विभिन्न लोकगीत गाई राम र लक्ष्मणलाई फूलले स्वागत गर्ने चलन छ ।

२३ मंसिरसम्म चल्ने रामजानकी विवाह महोत्सवको दोस्रो दिन शनिबार फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंम्बर र साँझ विवाह तथा २३ गते रामकलेवा हुनेछ । रामकलेवाका दिन जानकी मन्दिरको परिसरमा ठूलो भोजको आयोजना गरिन्छ । जसमा साधुसन्तलाई खाना खुवाई बिदाइ दिने चलन रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

नाै दिनसम्म जनकपुरधाममा मासु मदिरा बिक्री-वितरण निषेध

विवाह पञ्चमीको अवसरमा नाै दिनका लागि जनकपुरमा माछा-मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । १७ देखि २६ मंसिरसम्म जनकपुरधाममा माछा-मासु र मदिराको बिक्री-वितरण नगर्न जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गरेको छ । ‘जनकपुरधाममा प्रवेश गर्ने मुख्यद्वार र सीमा एवं जनकपुरधामस्थित परिक्रमा र परिक्रमा क्षेत्रभित्र माछा-मासु र मदिराको बिक्री वितरण, सेवन तथा कारोवार गर्न पूर्णरूपमा निषेध गरिएको छ ।

सप्ताहव्यापी मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए । सुरक्षाका लागि बाहिरबाट थप चार सय पचास सुरक्षाकर्मी मगाइएको छ । बाह्रबिघा मैदान, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटिभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर