पशुपतिमा दुर्लभ नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन — OSNepal

पशुपतिमा दुर्लभ नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

LC (KTM) December 04, 2021 0

काठमाडौँ, १८ मङ्सिर-पशुपतिनाथको भण्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शङ्खलगायत पुरातात्विक महत्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।भण्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन एक दिनमात्र हेर्न इच्छुक सर्वसाधारणलाई देखाइन्छ । अनादिकालदेखिका यी सामग्री बाला चतुर्दशीको भोलिपल्ट अर्थात् औँसीका दिन देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न आएका काठमाडौँ उपत्यका बाहिरका भक्तजन बाला चतुर्दशीका दिन बिहान शतबीज छरेर औँसीका दिन बिहान धार्मिक, पुरातात्विक एवं ऐतिहासिक र सांस्कृतिक महत्वका यी सामग्री हेरेरमात्र फर्कने हुँदा त्रयोदशीदेखि औँसीसम्म नै पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्छ ।पशुपतिनाथ मूल मन्दिरको पश्चिम मूलढोका अगाडि राखिएका ती सामग्री सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । दर्शन गराएपछि आजै ती सामग्री भण्डारमा राखिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर