महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न — OSNepal

महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न

LC (KTM) December 06, 2021 0

जलेश्वर, २० मङ्सिर -मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।राम जानकी विवाह महोत्सवका अवसरमा मटिहानी नगरपालिका–७ मा अवस्थित धार्मिक एवं पौराणिक लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिनुभयो । मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको ठीक अगाडिमा रहेको लक्ष्मी सागर (पोखरी)मा पुगी भगवान माता सीताको प्रतीक रहेको मूर्तिलाई नुहाई माटो उत्खनन गरेका थिए ।

मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान रामचन्द्र र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिने छ । गए राति मटिहानीमा यज्ञवेदीको लागि खनिएको माटो लिएर एक विशेष रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ ।

प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान रामचन्द्र र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न मटिहानीमा अवस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि सो स्थानमा वर्षेनी रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर