गृहमन्त्री खाँणलाई आफ्नै प्रदेशमा ठूलो धक्का — OSNepal

गृहमन्त्री खाँणलाई आफ्नै प्रदेशमा ठूलो धक्का

LC (KTM) December 06, 2021 0

बुटवल, २० मंसिर-नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा का‌ंग्रेस केन्द्रीय सदस्य खाँण कमजोर देखिएका हुन् ।

कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिमा रामचन्द्र पौडेल समूहका अमरसिंह पुन निर्वाचित भएका छन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार साहलाई हराउँदै पौडेल पक्षका पुन सभापति निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याएका छन् भने साहले ७६७ मत प्राप्त गरेका छन् । ८५ मतको अन्तरमा पुन निर्वाचित भएका हुन् ।

पदाधिकारीमा एक सभापतिबाहेक पुन प्यानल नै विजयी भएको छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याई विजयी भएका छन् । खनाल भने संस्थापननिकट मानिन्छन् ।

त्यस्तै महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेलनिकट हुन् । सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याई निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् । सदस्यहरूमा पनि सबै पौडेल समूहकै विजयी भएका छन् ।

गृहमन्त्री खाण देउवाका विश्वासपात्र समेत मानिन्छन् । तर, आफ्नै प्रदेश लुम्बिनी प्रदेशको प्रथम अधिवेशन तथा जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देखिएको कमजोर नतीजाले महामन्त्री बन्ने खाँणको चाहनामा गम्भीर धक्का पुग्ने देखिएको छ । गृहमन्त्री खाण पार्टीका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । खाँणकै गृहजिल्ला रुपन्देहीका १० प्रदेशसभा क्षेत्रमा पनि उनको निर्वाचन क्षेत्रमा मात्र पकड देखिएको छ ।

गृहजिल्लाको नेतृत्व खाँणकै भाइ रामकृष्णले पाए पनि अन्य पदाधिकारी तथा सदस्यमा पौडेल पक्ष हावी छ । रुपन्देहीका प्रतिनिधिसभाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा भने संस्थापनकै उम्मेदवार विजयी भएका थिए ।

तर, लुम्बिनी प्रदेशको समग्र नतिजा हेर्दा खाण निकै कमजोर देखिएका हुन् । प्रदेशका १२ जिल्लामध्ये नौवटा जिल्लाको नेतृत्व पौडेल पक्षले लिएको छ । दुईवटामा मात्र संस्थापन पक्षका उम्मेदवारले जितेका छन् भने बाँके जिल्लाको अधिवेशन भएको छैन । लुम्बिनी प्रदेश अधिवेशनमा एकजना उपसभापतिबाहेक अन्य सबै पौडेल पक्षले जितेको छ ।

यसअघि भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा गृहमन्त्री खाँणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित भएका थिए । यसबाट पनि खाँणको पकड कमजोर हुँदै गएको पुष्टि हुने संस्थापन समूहकै एक नेताले बताए ।

गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको भनिएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दुवै प्रदेशसभाका क्षेत्रीय अधिवेशनमा खाँण समूहको प्यानल नै पराजित भएको थियो । सोही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं खाँणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका थिए । संस्थापनइतर समूहका नेता कुमार केसीले प्रदेशको समगै नतिजालाई हेर्दा खाँण कमजोर देखिएको बताए ।

२०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावी परिणामले असुरक्षित देखिएपछि उनी समानुपातिकमा बसेका थिए । रुपन्देही क्षेत्र नम्बर ३ मा असुरक्षित महसुस गरेर उनी समानुपातिकमा बसेका थिए । स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका खाँणका भाइ रामकृष्ण खाँण एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए । तर, अब आउने संघीय संसदको निर्वाचनमा भने खाण रुपन्देही क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको उनी निकट कार्यकर्ताहरू बताउँछन् ।

पहिलो संविधानसभा निर्वाचन रुपन्देही–३ बाट लडेका खाँणले एमाले उम्मेदवार लिला गिरीलाई १२ सय मतले पराजित गरेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदजार घनश्याम भुसाललाई सोही क्षेत्रमा ८५ मतले मात्र पराजित गरेका थिए । २०७४ सालमा भने कांग्रेस-राप्रपाका साझा उम्मेदवार दिपक बोहोरालाई भुसालले झण्डै पाँचहजार अन्तरमा हराएका थिए । यसले पनि खाँण आफ्नै जिल्ला, क्षेत्र र प्रदेशमा कमजोर हुँदै गएको देखाउँछ । गत १४ कात्तिकमा भैरहवामा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले गठबन्धनबिना एमालेलाई हराउन सजिलो नभएको अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर