बाढीले भत्काएको जिवनको ब्यथा, सडकमा संघर्ष गर्दै बर्दियाकी बेचनी चौधरी — OSNepal

बाढीले भत्काएको जिवनको ब्यथा, सडकमा संघर्ष गर्दै बर्दियाकी बेचनी चौधरी

LC (KTM) December 07, 2021 0

सन्दिप योगी, बर्दिया-  बर्दियाको सदरमुकाम गुलरियाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको देशकै लामो पुलको रुपमा प्रख्याती कमाएको कर्णाली गेरुवा पुल अहिले एक महिलाकालागी जीवन धान्ने बाटो बन्न पुगेको छ ।केही महिना अघि खेतबाट घर ल्याउन तयारी अवस्थामा राखिएको अन्नबाली अप्रत्याशित रुपमा आएको विनाशकारी बेमौसमी वर्षाका कारण बाढीले बगाउँदा जिल्लाको राजापुर नगरपालिका वडा नंवर ६ टपराकी बेचनी चौधरीको जीवन पिडादायी बन्न पुगेको छ । उहाँको दिनहरु सडकमा संघर्ष गर्दै बितिरहेका छन ।

बेचनीको अहिले दिनहरु बारीमा फलेका तरकारी, रुखमा फलेका भोकटे र जंगलमा फलेका च्याउ गेरुवा नदिमाथीको पुलमा बसेर बेच्दै कट्ने गरेका छन ।यो पंक्तिकारले बेचनी चौधरीलाई भेट्दा उहाँ स्थानिय भाषामा ‘भक्कु’ भनिने भोकटे बेच्दै गरेको अवस्थामा हुनुहुन्थ्यो । उहाँ नेपाली भाषा बुझ्ने तर बोल्न नजान्ने र यो पंक्तिकार थारु भाषा बुझ्ने तर बोल्न नजान्ने अवस्था सृजना भएपछि दुबैको मौन स्वीकृतिमा दुबैले आफुले बोल्ने भाषामा एक-अर्कासंग संवाद थाल्यौं ।

सुरुमा बोल्न नचाहनुभएकी बेचनीसंग आफू पत्रकार भएको भनेर परिचय दिएपछि बल्ल उहाँ कुरा गर्न थाल्नुभयो ।बेचनीको लागी उहाँको संसार आफ्नो परिवार हो । त्यही परिवार आज समस्यामा भएकाले उहाँ आज गेरुवा नदिको पुलमा तरकारी बेच्दै हुनुहुन्छ ।

बेचनीको सबै भन्दा ठूलो गुनासो राहत नपाएकोमा छ । “४-५ जना आएर नाम टिपेर लगेर गएका छन, राहतको आश लागेको छ तर नेताहरुले अहिले सम्म काठमाण्डुबाट राहतै पठा छैनन ।” उहाँले भन्नुभयो, “राहत आएपछि भत्किएको घर बनाउने भनेको छु, अस्ति ठुला नेताहरु आएर राहत पठाइदिन्छु भन्या छन, अब कहिले आउँछ कुन्नी ।”

बेचनीलाई नेकपा माओबादीका नेतासंग ठूलो आशा र भरोशा छ । उहाँ भन्नुहुन्छ, “हाम्रो गाउँको बिकास माओबादीका नेताहरुले गरेका छन तर राहत पठाको छैनन, हामिलाई राहत पठाउन भन्दिनुस है पत्रकार ।”

बेचनीले कुनै दिन तरकारी बेच्नुहुन्छ भने कुनै दिन घरका रुखमा फलेका भोकटे, कुनै दिन च्याउ । यसरी उहाँले दिनमा २०० देखि ३०० सम्म कमाउनुहुन्छ र आफ्नो परिवारको छाक टार्नुहुन्छ ।बेचनीका श्रीमान ज्याला-मजदुरी गर्नुहुन्छ । उहाँका तीन छोरी छन भने एक छोरा । उहाँका तिनवटै छोरीको विवाह भैसकेको छ भने छोराले भर्खरै एउटा संस्थामा काम गर्न सुरु गर्नुभएको छ । अब बेचनीलाई छोराको विवाह गर्नु छ । छोराको विवाह गरेर बुहारीलाई घरमा भित्राउने उहाँको ठुलो इच्छा छ ।

उहाँ भन्नुहुन्छ, “विवाह गर्न ३ लाख जति लाग्छ, छोराको विवाह गरेर नातिनातिना खेलाउने धोको छ । त्यसैले पैसा जम्मा गरिराखेको छु । भोकटे बेचेको पैसा जम्मा गर्छु । महिनाभरी जम्मा भएको पैसा बैंकमा राख्ने गर्थें तर बाढीले वर्षभरी खान पुग्ने अन्नबाली नष्ट गरिदिएपछि अब यो पैसाले साँझ-बिहान छाक टार्न पुग्दैन त्यसैले बैंकमा जम्मा गर्न पाएको छैन ।”

बेचनीलाई नेताहरुसंग धेरै रिस उठेको छ । बाढी पीडितलाई ढाडस दिन नेताहरु नआएकाले उहाँलाई धेरै नराम्रो लागेको छ । उहाँको बुझाइमा नेताहरुले जनताको दुखमा साथ दिनु पर्छ ।उहाँ औँला भाँच्दै भन्नुहुन्छ, “गाउँका मान्छेले मलाई भनेको, अब चुनाब आउँदै छ रे । राहत नदिए भोट दिन्न । हामीलाई राहत नदिने नेतालाई भोट दिन्न ।”

बेचनीको पीडा त यहाँका बाढी पिडितको समस्याको बिम्ब मात्र हो । बेचनी जस्ता हजारौँ बाढी पिडित देशैभरी रहेका छन । ती बाढी पीडितको घाउमा सरकारले मल्हम लगाउन जरुरी छ । ती बाढी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारी संयन्त्रहरुले तदारुकता देखाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर