कांग्रेसमा पुस्तान्तरणका लागि याे उपयुक्त समय हो : अजयबाबु सिवाकाेटी (अन्तर्वार्ता) — OSNepal

कांग्रेसमा पुस्तान्तरणका लागि याे उपयुक्त समय हो : अजयबाबु सिवाकाेटी (अन्तर्वार्ता)

LC (KTM) December 08, 2021 0

काठमाडौं, २२ मंसिर – नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४-२७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी घाेषणा भइरहेकाे छ ।

यहीँ दौडमा होमिएका छन् अजयबाबु शिवाकोटी । दुई दशकदेखि पत्रकारितामा सक्रिय शिवाकोटीले राजनीतिमा हामफालेका छन् । नेपाल प्रेस युनियनका महासचिव एवं हाम्राकुरा अनलाइन पत्रिकाका संस्थापक सम्पादक शिवाकोटी दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पत्रकारिता बिट मारेकाे घाेषणा गर्दै उनले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका शिवाकोटीसँग महाधिवेशन केन्द्रित कुराकानी :

तपाईँले लामो समय पत्रकारितामा बिताउनुभयो, अहिले राजनीतिमा किन आउनुभयो ?
साढे दुई दशको पत्रकारितामा जुन किसिमको ज्ञान सीप आर्जन भयो, त्यसलाई राजनीतिमार्फत अझ फराकिलो दायरामा काम गर्न सकिन्छ कि भन्ने लागेर राजनीतिमा प्रवेश गर्ने जमर्को गरेको छु ।

पत्रकारिताबाट राजनीतिमा आउँदै गर्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
प्रतिक्रिया उत्साहजनक छ । खासगरी जिल्लामा जुन खालको रेस्पोन्स पाएको थिए, त्यहीँ खालको रेस्पोन्स महाधिवेशन प्रतिनिधि हुँदै गर्दा अग्रस साथीबाट पाएँ । उत्साह र प्रेरित गर्नुभयो । शुभकामना पाइरहेको छु । त्यसले पनि महाधिवेशनमा अगाडि बढ्न थप हौसला प्रदान गरिरहेको छ । मिडिया र अग्रज साथीहरुले पनि हौसला दिइरहनुभएको छ । यसले राजनीतिक यात्रा गर्न कही न कही थप प्रेरित गरेको छ ।

दोलखाबाट महाधिवेशन प्रतिनिधि हुनुभयो, अब महाधिवेशनमा कुन पदमा दाबी हो ?
१४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निधो गरेको छु । खुल्ला वा समावेशीलगायत समूहगत रुपमा भने उम्मेदवारी दिने बेला तय गर्नेछु । अहिले मैले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा उभ्याएको छु ।

राजनीतिमा होमिएर उम्मेदवारी दिँदै गर्दा तपाईंको मूल एजेण्डा के हो ?
हाम्रो सन्दर्भमा राजनीतिक नेतृत्व र दलले पटकपटक राजनीतिक परिवर्तनको नेतृत्व गरे । सहभागी भएर भूमिका निर्वाह गरे । तर त्यसबाहेक आर्थिक समृद्धिको विषयमा हाम्रो प्राथमिकताको सूचीमा तल परेको हो कि भन्ने देखिएको छ । यो अवस्थामा आम नेपालीको प्राथमिकता समृद्धि हुनुपर्छ । देश समृद्ध भयो भने नागरिक पनि समृद्ध हुन्छन् । समृद्धिसँग देशको इज्जत पनि जोडिएर आउँछ । त्यो इज्जत सम्मान दिलाउने सन्दर्भमा देशभित्र र बाहिर हेर्नुपर्छ । हाम्रो नागरिकलाई खाडी मुलुकमा हेर्ने जुन दृष्टिकोण छ, समृद्ध देशका नागरिकले पाउने दृष्टिकोणभन्दा फरक छ । यो कुरा हाम्रो समृद्धिसँग जोडिन्छ ।

त्यसकारण सम्मान र समृद्धिलाई सँगसँगै जोडेर लैजाने र सम्मानित नेपाली, सम्मानित देशको नागरिक हुने अवस्था आउनुपर्छ । त्यसकारण अब हाम्रो प्राथमिकता राजनीति सँगसँगै समृद्धि हुनुपर्छ । आर्थिक विकास हुनुपर्छ । यो कुरा एउटा व्यक्ति वा पार्टीले उठाउने नारा होइन, देशको, नागरिकको नारा हुनुपर्छ भन्ने कुरालाई सफल बनाउन हरेक दलका नेता कार्यकर्ताको प्राथमिकता हुनुपर्छ । यो एजेण्डा त्यो हिसाबले उठान गर्दै गर्दा मेरोमात्र होइन यो देशकै एजेण्डाको एउटा अंश मैले उठान गरेर अघि बढ्ने प्रयास गरेको छु ।

कांग्रेसमा उम्मेदवारी दिँदै गर्दा गुटगत आधारमा दिने अभ्यास छ । तपाईंको उम्मेदवारी कुन समूहबाट ?
उम्मेदवारी दिने सन्दर्भमा चुनावका बेला गुट बन्ने, उम्मेदवारी दिने कुरा अस्वभाविक होइन । स्वभाविक ढंगले लिइन्छ । यसरी हेर्दा मैले पनि कुनै गुटसँग जोडिएर उम्मेदवारी दिनुपर्ने अवस्था २४ गतेसम्म मनोनयनको समयसम्म हुनसक्छ । तर आजको दिनमा म जुन जिल्ला (दोलखा)बाट प्रतिनिधित्व गरेर आए, महाधिवेशन प्रतिनिधि भएर आउँदै गर्दा मैले के बुझ्छु भने म सबैको हुँ । किनभने म जुन पेसाबाट आएको छु त्यहाँभित्र मैले तटस्थता मेन्टेन गर्नुपर्ने थियो ।

त्यो तटस्थता मेन्टन गर्दा कतिपय अवस्थामा आरोपित हुने अवस्था पनि आयो होला अर्को पक्षबाट । तर आज त्यहीँ दलभित्र फेरि अर्को समूहबाट आरोपित हुनेभन्दा पनि सकेसम्म सबैको सहमतिले सबैको हुनेगरी जाने प्रयास गर्नेछु । यद्यपि त्यो अवस्था भएन भने पनि अन्तिम समयसम्म कुनै न कुनै एउटा रहनुपर्ने अवस्था आउँछ । त्यसका लागि म छलफलमा छु । उम्मेदवारी मनोनयन पछि यसका बारेमा प्रष्ट हुन्छ ।

तपाईँ पत्रकारिताबाट राजनीतिमा आउनुभएको छ, तपाईंको पत्रकारिता यात्राबारे थोरै बताइदिनुस् न ।
मैले २०५७ सालमा रेडियो नेपालको घटना र विचारबाट सुरु गरेको थिए । एक वर्षपछि इमेज मेट्रो टेलिभिजनमा सुरु गरे । केही समयमा इमेज च्यानलमा रुपान्तरण भयो । २०६/र०६३ को आन्दोलपछिसम्म त्यहाँ काम गरे । त्यसपछि एकवर्ष जति नेपाल वानमा पनि काम गरे । विरामी अवस्थामा एक वर्ष ब्याक भए । उपचार पछि फर्किँदा रेडियो न्युज, नेपाल टेलिभिजनमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम इन्टर सुरु गर्‍यौं । त्यहाँ आफै उत्पादन गरेर प्रसारण गर्थ्यौं ।

त्यहीँ बेला कान्ति सिटी कलेजमा आमसञ्चार पढ्दै गरेका केही साथी मिलेर एउटा कम्पनी खोल्यौं । त्यहीँ कम्पनीले हाम्रा कुरा अनलाइन पत्रिका सुरुवात गर्‍यो । त्यहीँ हाम्राकुरामा यो उम्मेदवारी घोषणा गर्नुअघिसम्म कार्यरत थिए । उम्मेदवारी घोषणापछि सम्पादकीय नेतृत्वबाट बिदा लिएको छु । संस्थापक सम्पादकको हैसियत मेरो नाम रहिरहनेछ । संञ्चालकको भूमिका भने रहिरहनेछ । ०५७ सालअघि मैले केही वर्ष साप्ताहिक पत्रिकामा पनि काम गरे ।

पत्रकारितामा रहँदा सत्ता हल्लाउनुभयो । सभामुख कृष्ण महरा र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको काण्ड बाहिर ल्याएर पदमुक्त हुने अवस्था आयो । पत्रकारितामा सफलजस्तो देखिएको तपाईंको करियर राजनीतिमा कस्तो रहँला ? सफल भइन्छ भन्ने आत्मविश्वास कत्तिको छ ?
त्यो हेर्दै जाउँ । किनभने हामी काम गर्दै जाँदा अहिले नै धेरै महत्वाकांक्षा राख्ने कुरा त्यति उपयुक्त हुँदैन । तर म जुन ढंगले अगाडि बढिरहेको छु, प्रयास गरिरहेको छु, त्यसमा साथ सहयोग मिल्दै गयो भने सफल हुन सकिएला । नभए पनि ठिकै छ । सिक्दै अगाडि बढ्ने कुरामा विश्वास गर्छु ।
अहिले पत्रकारिता राजनीतिमा आउने माध्यम बनेको देखिन्छ ।

तपाईं आफैं पनि प्रेस युनियन महासचिव हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ । बाहिर यसलाई नकारात्मक रुपमा टिप्पणी गर्ने गरिन्छ । तपाईंले यसलाई कसरी हेर्नुहुन्छ ?
कुनै एउटा पेसा, व्यवसाय, संगठनमा काम गर्दै गर्दा, संगठनबाट आफ्नो नेटवर्क विस्तार गर्दै गर्दा अर्को ठाउँमा जाने कुरालाई अन्यथा मान्नु हुँदैन । खेलकुदबाट राजनीतिमा आएका छन् । कला क्षेत्रमा काम गरेका मान्छे राजनीतिमा आएका छन् ।

शिक्षा, उद्योग व्यवसायमा गर्ने मान्छे पनि आएका छन् । सबै पेसा व्यवसायका मान्छे एउटा समाजसेवाका रुपमा, अर्को सेवा गर्ने, अर्को प्ल्याटफर्मको रुपमा आउने कुरालाई मैले अन्यथा मानेको छैन । हामी कुन नियतले प्रवेह गरेका छौं भन्ने मुख्य कुरा हो । यसमा निय सफा राखेर थप योगदान गर्न सक्छौं भन्ने उद्देश्य राखेर आउँदै त्यसलाई मैले अन्यथा मानेको छैन ।

अहिले हरेक पार्टीमा नेतृत्वमा युवा पुस्ता आउनुपर्छ भन्ने बहस छ । कांग्रेसमा पनि आवाज सुनिन्छ । युवाको हिसाबले उम्मेदवारी दिँदै गर्दा कतिको सहजता महसुस गर्नुभएको छ ?
पार्टीमा सक्रिय सदस्यताको वितरणदेखि नै युवाको उपस्थिति बढेको छ । त्यसको रिफ्लेक्सन क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिसम्म आइपुगेको छ । पहिलोपटक अथवा नयाँ महाधिवेशन प्रतिनिधिको संख्या ६० प्रतिशत बढी छ । यसले केन्द्रीय समितिमा पनि रिफ्लेक्सन देखिन्छ भन्ने लाग्छ । पुस्तान्तरणको विषय सक्रिय सदस्यता बिस्तारले नै स्थापित भइसकेको छ । त्यसैले पुस्तान्तरणका लागि यो एउटा उपयुक्त समय पनि हो । पाकाको नेतृत्वमा युवाको उपस्थिति बढ्ने अवस्था यो पटक देखिन्छ ।

अन्तिममा महाधिवेशनमा होमिएका नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधिलाई के सन्देश दिन चाहनुहुन्छ ?
हामी यस्तो समयमा आएका छौं कि राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टी आर्थिक समृद्धिको एजेण्डा सँगसँगै लानुपर्ने अवस्थामा छ ।

यो देश समृद्ध, समुन्नत बनाउन, नेपाली नागरिक सम्मानित बनाउनका लागि कांग्रेसका प्रत्येक नेता कार्यकर्ताको ठूलो योगदान र भूमिका आवश्यक छ । सबै नेता कार्यकर्ता महाधिवेशनमा आउँदै गर्दा यी विषयमा जोडदार उठाएर एउटा बलियो कांग्रेस बनाउने दृढ संकल्प यहाँबाट लिएर जानुहुनेछ ।

किनकि आउने कांग्रेसले फेस गर्नुपर्ने जति पनि चुनावहरुमा एउटा ठूलो दलको रुपमा स्थापित सकोस् । ठूलो दलमात्र होइन एउटा बहुमत प्राप्त दल स्थानीयदेखि प्रदेश हुँदै केन्द्रमा एउटा सरकार बनाउन सक्ने हैसियत राख्न सकोस् । त्यसमा हामी सबैको मेहनत जरुरी छ । त्यो मेहनत सम्भव पनि छ । यहीँ आग्रह गर्छु । यसका लागि हामी सबै हातेमालो गर्दै अगाडि बढौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर