बौद्धिक अपाङ्गताका अभिभावक महासंघको अध्यक्षमा बस्नेत — OSNepal

बौद्धिक अपाङ्गताका अभिभावक महासंघको अध्यक्षमा बस्नेत

LC (KTM) December 08, 2021 0

काठमाडौँ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको अध्यक्ष राजु बस्नेत चयन भएका छन् । चितवनमा सोमबार सम्पन्न महासंघको दशौ साधारणसभा र पाँचौ महाधिबेसनले उदयपुरका बस्नेतको नेतृत्वमा ११ सदस्य नयाँ नेतृत्व चयन गर्दा बस्नेत नै अध्यक्षमा दोहोरिएका हुन् ।

केन्द्रिय समितिको उपाध्यक्षमा शिला थापा, महासचिवमा रामनारायण श्रेष्ठ, सचिवमा उर्मिला केसी, कोषाध्यक्षमा गोकर्णप्रसाद आचार्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रमिला शाक्य, शान्ताप्रभा खनाल, जगदिशप्रसाद अर्याल, जमुना पौड्ेल, टिकाराम सापकोटा र श्रीप्रसाद सापकोटा रहेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले उद्घाटन गर्नु भएको अधिवेशनमा देशभरका ४० जिल्लाका १५० प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका महासचिव रामनारायण श्रेष्ठले सस्थाको आर्थिक बर्ष २०७६र७७ र २०७७र७८ को बार्षिक प्रगति प्रतिबेदन तथा भाबी कार्यक्रम पेश गर्नुभएकोमा सर्वसहमतबाट पारित भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ रोजगार लगायतका अधिकारका लागि एक अर्कामा हातेमालो गरेर जानु पर्ने बताए । उनीहरुले आफ्ना बालबालिकाको हकअधिकारका लागि पैरवी अझै बढाउनु पर्ने बताए । उनीहरुले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको समस्या अन्य अपाङ्गता भएका व्यक्तिहरुको भन्दा जटिल हुने भएकाले साझा मुद्दामा काम गर्नु पर्ने बताए । वक्ताहरुले बौद्धिक अपाङ्गता भएका बालबालिका लाई रोलमोडेलको रूपमा प्रस्तुत गर्ने र उनीहरुलाई रोजगारीको अवसर प्रदान गर्नु पर्ने बताए ।

उनीहरुले बौद्धिक अपाङ्गता भएका ब्यक्तिका अभिभावकहरुले चलाउन मिल्ने अपाङ्गतामैत्री सवारी साधनमा राज्यले भन्सार छुट गरीदिनु पर्नेमा जोड दिए । त्यसैगरी बौद्धिक अपाङ्गता भएका बालबालिकाको स्रोत कक्षाहरुको प्रभावकारी ढंगले संचालन गर्न सरकारसँग माग गरे । प्रमुख अतिथि शर्माले बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि शिक्षाको पहुँच बढाउन व्यवस्थापकिय पाटोमा सुधार गर्नु पर्ने, हेरचाह र सहयोगी सेवा बढाउनु पर्नेमा जोड दिए । उनले पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई दिने सामाजिक सुरक्षा भत्ताको आधा भत्ता निजका सहयोगीलाई दिने ब्यवस्था अपाङ्गता भएका ब्यक्तिको नियमावलीमा रहेकाले कार्यान्वयमा जोड दिए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष बस्नेतले बौद्धिक अपांगताको पहिचानमा नै समस्या रहेको बताएका छन् । उनले भने, ‘देशभरि छरिएर रहेका बौद्धिक अपांगता भएका व्यक्तिहरुको पहिचानमा नै समस्या छ । उमेरअनुसार बौद्धिक विकास हुन नसकेका व्यक्तिहरुलाई अपांगतामा राखिएको भए पनि उनीहरुको लालनपालनमा मुख्य समस्या देखिने गरेको उनको भनाइ छ ।

उनले थपे, ‘सबैभन्दा जटिल अपांगता भनेको बौद्धिक अपांगता हो । हेर्दा हट्टाकट्टा देखिए पनि उनीहरु परिवारको सहाराबिना हिड्डुुल गर्न नसक्ने उनको भनाइ छ । राज्यले उनीहरुको उपचारका लागि आवश्यक बजेटसमेत विनियोजन गर्न नसक्दा कतिपयको अवस्था दयनीय बन्दै गएको उनले बताए । उनले थपे, ‘मासिक पाँचदेखि सात हजारको औषधि खुवाउनुपर्ने हुन्छ । तर राज्यले अपांगता भएका व्यक्तिहरुलाई दुई हजारदेखि चार हजारसम्म मात्रै सहयोग गर्दै आएको छ, यो रकमले औषधि खुवाउने कि उसको लालनपालनमा खर्च गर्ने रु उनीहरुका लागि राज्यले व्यक्तिगत सहयोगीको व्यवस्था गरिदिन अध्यक्ष बस्नेतले माग गरे ।

बौद्धिक अपांगता अभिभावक महासंघका सदस्य संस्थाहरुले देशभर २१ स्थानमा दिवा हेरचाह केन्द्र सञ्चालनमा ल्याएका छन् । यसलाई अभिभावकहरुले नै चलाउँदै आएका छन् । उनीहरुले नै व्यवस्थापन गर्दै आएका छन् । २०६८ को जनगणनमा बौद्धिक अपांगता भएका व्यक्तिहरु १४ हजार ८८८ रहेको जनाइएको भए पनि त्यसभन्दा धेरै बौद्धिक अपांगता रहेको महासंघको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर