सोलार लिफ्टबाट पानी ल्याउँदा मोथबोरा गाउँका स्थानीयवासीमा खुसीयाली — OSNepal

सोलार लिफ्टबाट पानी ल्याउँदा मोथबोरा गाउँका स्थानीयवासीमा खुसीयाली

LC (KTM) December 09, 2021 0

डोटी-वर्षौंदेखि खानेपानीको समस्याले पीडित बनेका जिल्लाको शिखर नगरपालिका–८ गोपघाट तथा मोथबोरा गाउँका स्थानीयवासी अहिले खुसी भएका छन् । ती दुई गाउँमा सोलार लिफ्टमार्फत सेती नदीको खानेपानी पुगेपछि गाउँले खुसी भएका हुन् । डिसिए नेपाल र शिखर नगरपालिकाको आर्थिक सहयोगमा सम विकास केन्द्र इडिसीले सेती नदीको पानी सोलार लिफ्टमार्फत नदीदेखि ९० मिटर उचाइमा रहेको उक्त गाउँमा खाने पानी पुगेको हो ।

नगरपालिकाको रु १२ लाख, इडिसी तथा साकार परियोजनाको रु आठ लाख गरी जम्मा रु २० लाखमा उक्त खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अर्जुन बलायरले जानकारी दिनुभयो । त्रिसठ्ठी एमएमको पाइपबाट सेती नदीबाट पानी गाउँमा आएपछि ससाना करेसाबारी सिँचाइ गर्न र सरसफाइका लागि निकै राहत भएको स्थानीयवासी रामसिंह बलायरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी नहुँदा साग तरकारीसम्म लगाउन पाएका थिएनौँ, अहिले घरैमा पानी आएपछि सिँचाइ तथा साग तरकारी लगाउन सहज भएको छ ।” गाउँमा पानी नहुँदा घण्टाँै टाढा रहेका खोला तथा सेती नदीकोे पानील्याउन बाध्य रहेका स्थानीयवासी अहिले घरैमा पानी पाएपछि खुसी भएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर