कांग्रेसमा पदाधिकारी संख्या थपेर महिलालाई प्रमुख पदमा पुर्‍याउनुपर्छ : पुष्पा भुसाल (अन्तर्वार्ता) — OSNepal

कांग्रेसमा पदाधिकारी संख्या थपेर महिलालाई प्रमुख पदमा पुर्‍याउनुपर्छ : पुष्पा भुसाल (अन्तर्वार्ता)

LC (KTM) December 10, 2021 0

काठमाडौं, २४ मंसिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पुष्पा भुसाल पदाधिकारी आकांक्षी हुन् । पार्टीको संसदीय दलका सचेतक एवं केन्द्रीय सदस्य रहेकी भुसाल समग्र महिलाको प्रतिनिधित्व गर्दै संस्थापन पक्षबाट पदाधिकारीमा उम्मेदवार बन्न चाहन्छिन् ।

भुसालसँग न्युज कारखानाले महाधिवेशन केन्द्रित कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गर्न संख्या थप्नुपर्ने धारणा राखिन् । यसका लागि आफूले नेतृत्वसँग आवाज उठाएको उनले बताइन् ।

आफैं पनि सहमहामन्त्री पदमा दाबी गरेकी पुष्पा निर्णय र नेतृत्व गर्ने ठाउँमा महिला पुगे मात्र समावेशी लोकतन्त्रको अभ्यास पूरा हुने बताउँछिन् ।

प्रस्तुत छ भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेसको महाधिवेशन आजदेखि सुरु हुँदैछ, कस्तो छ तयारी ?
सबै जिल्लाको महाधिवेशन प्रतिनिधि चुनिएर काठमाडौं आउने क्रम जारी छ । आज दिउँसो साढे १ बने महाधिवेशन उद्घाटन हुन्छ । अहिलेको महाधिवेशन अरु समयभन्दा फरक ढंगले अघि बढेको छ । किनभने विधानले संख्यात्मक रुपमा धेरै साथीलाई केन्द्रीय समितिमा जाने अवसर दिइराखेको छ ।

त्यहीँ भएर पार्टी चलाउन विचार र संगठनमार्फत कांग्रेसलाई एउटा जनप्रिय पार्टी बनाउनको लागि र वामपन्थी पार्टीसँग आफ्नो वैचारिक द्वन्द्व गर्न पनि यसपटकको नेतृत्व छनोट नौलो किसिमबाट हुन्छ भन्ने लाग्छ । त्यहीँ भएर साथीहरुमा ठूलो उत्साह छ ।

अर्कोतिर नजिकिँदै गरेको स्थानीय निर्वाचन, त्यसपछि प्रदेश र केन्द्रको निर्वाचनको नेतृत्व तय गर्नका लागि र कांग्रेसलाई राष्ट्रिय राजनीतिको पहिलो पार्टीको रुपमा स्थापित गर्ने जिम्मेवारी पनि अबको महाधिवेशनबाट छानिएको नेतृत्वको काँधमा आएको हुनाले यो एउटा ठूलो अवसर हो, यसलाई चुनौतीका रुपमा पनि लिनुपर्छ ।

चुनौतीका रुपमा यो मानेमा कि संगठनलाई सुदृढ गराएर आसन्न निर्वाचनमा कुनै कमीकमजोरी देखा नपरोस्, सबै एकजुट भएर कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने भएकाले स्थानीयदेखि संघ निर्वाचनको तयारीका लागि अहिलेको महाधिवेशन महत्वपूर्ण छ ।

नेतृत्व चयन गर्ने महाधिवेशनहुँदै गर्दा तपाईको तयारी कुन पदमा हो ?
अब दुई पटक केन्द्रीय कार्यसमितिमा निर्वाचित भएर आइसकेको, संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा गरी तीन पटक प्रत्यक्ष निर्वाचित भएर प्रतिस्पर्धा गरेको हुनाले फेरि पनि हामी आफूलाई निर्वाचनका लागि तयारी गरिराखेका छौं । राष्ट्रिय निर्वाचनका लागि तयारी गरिराखेका छौं । त्यहीँ भएर पार्टीको एउटा महत्वपूर्ण जिम्मेवारीमा गएर प्रमुख भूमिका खेल्ने अपेक्षा राखेको हुनाले मैले पनि आफ्नो पार्टी र समूहभित्र एउटा पदाधिकारीको आकांक्षा राखेको छु । नेतृत्व तहले निर्णय गर्ने समयसम्म मेरो आफ्नो दाबी रहिरहने छ ।

पदाधिकारीमा कुन पदमा दाबी हो ?
अहिले केन्द्रीय समिति सदस्यबाट अगाडि जाँदै गर्दा सहमहामन्त्रीमा आफ्नो नेतृत्वलाई यदि स्थापित गर्न सकियो भने भोलिका दिनमा त्यो भन्दा माथिको पदमा जानका लागि आफ्नो भूमिका देखाउन सक्ने र प्रभावकारिता पनि निरन्तरता दिनसक्ने भएकाले मैले आफूलाई सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेको छु ।

सहमहामन्त्री पदमा दाबी गर्दै गर्दा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्ता, शुभेच्छुकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
विशेषगरी अहिले धेरै साथीहरु केन्द्रीय कार्यसमितिमा आउन इच्छुक भएको मैले देखिराखेको छु । तर हामी पटक पटक पार्टी र राष्ट्रिय निर्वाचन लडिसकेको हुनाले स्वभाविक रुपमा माथिल्लो तहमा निर्वाचन लडेर अरु नेतृत्वलाई केन्द्रीय समितिमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यले धेरै साथीहरुले केन्द्रीय सदस्यभन्दा माथिको पदमा निर्वाचित भएर जाँदै गर्दा उपयुक्त हुन्छ भन्ने धारणहरु पाइराखेका छौँ ।

सहमहामन्त्रीमा तपाईंको एजेण्डा के हो ?
नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता ओगटेको पार्टी हो । राष्ट्रियता, समाजवाद, लोकतन्त्रलाई अहिलेको २१औँ शताब्दीको लोकतन्त्रअनुसार हामीले यसलाई परिभाषित गर्न जरुरी छ र त्यो अनुसार आफ्नो व्यवहारलाई परिवर्तन गर्न जरुरी छ ।

किनभने अब नयाँ पुस्ताको प्रवेश भइसकेको छ । लगभग हामीले क्रियाशील सदस्यता दिँदै गर्दा ५० प्रतिशत बढी ५० वर्षभन्दा कम उमेरका युवा पुस्ताको प्रवेश भइसकेको छ । एकतिहाई महिलाको उपस्थितिको प्रावधान विधानले ल्याइसकेको छ । समावेशी दलित, मधेसी, जनजाति, मुस्लिम, थारु समुदायबाट प्रतिनिधित्वको तयारी भएको छ ।

तर, निर्वाचन लडेरमात्र नेतृत्व तयार हुँदैन रहेछ । त्यो नेतृत्वलाई निखार्न, तयार वैचारिक ढंगबाट कांग्रेस प्रस्तुत हुन जरुरी छ । हामी कम्युनिस्ट दर्शनलाई विश्वास नगर्ने पार्टी भएको हुनाले यो मुलुकमा वामपन्थी शैलीमा लोकतान्त्रिक शासन प्रणाली अगाडि बढाउन सक्दैन भन्ने पुष्टि भइसकेकाले अबको महाधिवेशनबाट आउने नेतृत्वले एउटा वामपन्थी विचारधारा र पद्धतिबाट मुलुक लोकतान्त्रिक अगाडि बढ्न सक्दैन भन्नको लागि पनि वैचारिक ढंगबाट विचारमा स्पष्टता गरेर जनतामाझ जान जरुरी छ र कांग्रेसप्रति विश्वास दिलाउन जरुरी छ ।

दोस्रो कुरा कांग्रेसले वामपन्थीसँगको वैचारिक द्वन्द्वको साथै पार्टीभित्र आन्तरिक संगठनलाई अझ बढी मजबुत बनाउने चुनौती छ । तेस्रो आसन्न स्थानीयदेखि केन्द्रीय निर्वाचनमा नेतृत्वलाई तय गर्न, तयार गर्ने र नेतृत्वलाई जनतामाझ स्थापित गर्ने, जनप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने, महिला उम्मेदवारसहित समावेशी चेहरा ल्याउन आवाज उठाउनुपर्छ ।

निष्कर्षमा भन्दा विचार र संगठनबाट कांग्रेसलाई जनताको जनप्रिय पार्टी बनाएर, आम जनताको विश्वास दिलाएर, कांग्रेसलाई जबसम्म राष्ट्रिय राजनीतिको मूल केन्द्रमा लिएर आउँदैनौं तबसम्म हामीले प्राप्त गरेको परिवर्तन र राजनीति बचाउन सकिँदैन भन्ने हाम्रो ठहर रहेको छ ।

त्यसकारण कांग्रेसलाई जनतामाझ लिएर लोकप्रिय पार्टी बनाउने जिम्मेवारी अहिलेको यो महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वको काँधमा रहनेछ र त्यसलाई पूरा गर्नुपर्छ ।

कांग्रेस पदाधिकारीमा महिला आएनन् भन्ने गुनासो छ । यसपालि महाधिवेशनबाट पदाधिकारीमा महिला आउने कत्तिको सम्भावना देख्नुहुन्छ ?
हामीले बाहिरबाट हेर्दा पार्टी पुरुषबाट डोमिनेन्ट भएको, विभिन्न माथिल्लो पदहरुमा पुरुषहरु नै स्थापित भएको, पुरुष नेतृत्वको बढीभन्दा बढी संख्यात्मक रुपमा केन्द्रीय समितिमा उपस्थिति देखिएको हुनाले यसो हेर्दा पुरुष नेतृत्व नै माथि पदाधिकारीमा दाबी गरेको देखिन्छ ।

त्यो स्वभाविकै हो । किनभने हिजोको दिनमा प्रमुख पदमा पुरुष नै उपस्थित भएको र केन्द्रीय कार्यसमितिमा पनि पुरुष नेतृत्वलाई संगठनमा, कुनै पनि स्थानमा बढी प्राथमिकताका साथ भूमिका दिएको हामीले देखेका छौं । पुरुषले पाएको भूमिका र अवसरका आधारमा पनि विभिन्न ठूलो पदमा पुरुषकै बढी दाबी रहेको पाएका छौँ ।

महिलालाई नेतृत्वमा स्थापित गर्ने र भोलि प्रमुख पदमा दाबी गर्न पनि कम्तिमा प्रमुख पदमा पद संख्या बढाएर भए पनि, उपसभापति, महामन्त्री र सहमहामन्त्री बढाएर भए पनि पुरुषको तुलनामा महिलाको नेतृत्व स्थापित जबसम्म गर्दैनौँ, तबसम्म माथिल्लो पदमा प्रतिस्पर्धा गर्न अवसर जुट्दैन ।

महाधिवेशनले समावेशी लोकतन्त्रलाई विश्वास गर्ने भएकाले नीति निर्माणको ठाउँमा पनि महिला उपस्थिति जरुरी छ । निर्णय गर्ने ठाउँमा पनि महिलाको उपस्थिति बढाउन जरुरी छ । कांग्रेसलाई पनि महिलामैत्री बनाउन जरुरी छ ।

५० प्रतिशत मतदाताको आस्थाको केन्द्र कांग्रेसलाई बनाउन जरुरी छ । त्यहीँ भएर प्रमुख पदमा महिलाको प्रतिनिधित्व र उम्मेदवार हुनुपर्छ भनेर पदाधिकारी संख्या बढाउन आवाज उठाइराखेका छौँ । पार्टीको नीतिगत निर्णय गर्ने र प्रमुख ठाउँमा जबसम्म महिलाको नेतृत्व हुँदैन तबसम्म आममहिला, राजनीतिमा काम गर्ने महिलाले आफ्नो सुरक्षा, मूल्यांकन भएको महसुस गरिराखेका छैनन् । त्यहीँ भएर हामी प्रमुख पदमा महिलालाई पुर्‍यानुपर्छ र पदाधिकारीको संख्या बढाउनपर्छ भनिरहेका छौं ।

अन्तिममा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालाई के भन्न चाहनुहुन्छ?
पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने र सरकारको पनि नेतृत्व गरिरहेको हुनाले राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरबाट कांग्रेसको महाधिवेशनलाई अत्यन्त नजिकबाट नियालिराखेको अवस्था छ ।

अहिलेको सम्माननीय प्रधानमन्त्री पनि सभापतिको उम्मेदवार भएको हुनाले सबैतिरबाट चासो छ । यो सरकारले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचन गराएर कांग्रेसलाई पहिलो पार्टी बनाउने जिम्मेवारी पनि अहिलेकै गठबन्धनको काँधमा रहेको छ ।

त्यसकारण अहिले प्रधानमन्त्रीजी सभापतिको उम्मेदवार भइराख्नुभएको छ, उहाँलाई सभापतिमा सर्वसम्मत रुपमा निर्णय गरेर एकपटक कांग्रेसका अगाडि देखा परेका चुनौतीलाई व्यवस्थापन गर्न र नेतृत्व स्थापित गर्न यो महाधिवेशनलाई सहमतिको अधिवेशन बनायौं भने आमनिर्वाचनमा आमजनताले चाहेको कांग्रेसलाई सजिलै विजय प्राप्त गर्नलाई सहज हुनेछ । त्यसका लागि अहिले नै प्रयास गर्दा उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यसमा प्रतिनिधिले विवेक पुर्‍याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर