आज जनता सार्वभौम बनेको इतिहासको अविस्मरणीय दिन — OSNepal

आज जनता सार्वभौम बनेको इतिहासको अविस्मरणीय दिन

LC (KTM) May 29, 2021 0

काठमाडौँ, १५ जेठ- प्रधानमन्त्री ओलीले आजको दिनलाई जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमा आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य भई उज्यालो प्राप्त भएको दिनका रुपमा स्मरण गर्नुभयो । उहाँले जनता सार्वभौम बनेको आजको दिन नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको उल्लेख गर्नुभयो । उहाँले सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हुने बताउनुभयो ।

उहाँले जनताको अधिकार, सर्वोत्तम हित र आकाङ्क्षाको प्रतिविम्ब संविधानको व्यावहारिक कार्यान्वयनमार्फत जनतामा प्रतिफल पु¥याउनमा सरकार दत्तचित्त रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले विकासका लागि सामाजिक र भौतिक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल, सुखी नेपालीको आधार निर्माणमा मुलुक अग्रसर भएको स्पष्ट पार्नुभयो ।

उहाँले जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको बताउनुभयो । गणतन्त्रमा स्वस्थ बहस, मर्यादित छलफल र असहमतिबीच निर्बाध अभिव्यक्तिको प्रत्याभूति हुने र यसका लागि आचरण, व्यवहार तथा विचारका हिसाबले उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहित व्यवहार अपरिहार्य रहने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गणतन्त्रपछिको अवधिमा चेतनाको संस्थागत विकाससँगै ‘विकास र समृद्धि’का सपनाले साकार रुप लिन थालेको बताउनुभयो । उहाँले मुलुकमा अस्थिरतालाई चिर्दै आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जिकिर लिनुभयो । आर्थिक वृद्धिदरमा प्रगति हुनु, निरपेक्ष गरिबीमा कमी हुनु, शान्ति, सुशासन र सेवा प्रवाहमा सुधार, भूकम्पपछिको पुनर्निर्माणले सार्थकता पाउनु र विश्वव्यापी परिसूचकमा उल्लेख्य सुधार हुनुले मुलुक सही दिशातर्फ अघि बढिरहेको छ भन्नेमा प्रस्ट रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर