चन्द्रागिरि नगरपालिकाले मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने — OSNepal

चन्द्रागिरि नगरपालिकाले मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने

LC (KTM) May 29, 2021 0

काठमाडौँ, १५ जेठ- चन्द्रागिरि नगरपालिकाले मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि नगरपालिकाले सम्झौतासमेत गरिसकेको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको नगर स्वास्थ्य संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार करीब रु ७४ लाख लागतमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको हो ।

वडा नं ८ का अध्यक्षसमेत रहनुभएका स्वास्थ्य संयोजक खड्काले अक्सिजन प्लान्ट जडान गरिसकेपछि नगरभित्रका सङ्क्रमितको उपचारमा सहज हुने बताउनुभयो । अबको एक महिनामा जडान गरिसक्ने अक्सिजन प्लान्टबाट दैनिक ४० सिलिण्डर भरिनेछ । अक्सिजन जडानका लागि अहिले काम भइरहेको छ । नगरपालिकाको आन्तरिक स्रोत र दाताको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो । अहिलेसम्म दाताबाट नगद रु १५ लाख ७७ हजार ४४३ सङ्कलन भइसकेको छ ।

नगरपालिकाले यही जेठ १ गतेदेखि अस्पतालमा सङ्क्रमितको उपचारका लागि ३० श्ययाको आइसोलेशन बनाएको छ । चन्द्रागिरिमा अहिलेसम्म चार हजार १८६ सङ्क्रमित, तीन हजार ४८७ निको र ५४ को निधन भइसकेको छ । अस्पतालको आइसोलेशनमा २५ र होम आइसोलेशनमा ६२९ रहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर