बजेट : झापामा दर्जनभन्दा बढी योजना, अधिकांश योजना प्रधानमन्त्रीको गृहनगर दमकमा पारियो — OSNepal

बजेट : झापामा दर्जनभन्दा बढी योजना, अधिकांश योजना प्रधानमन्त्रीको गृहनगर दमकमा पारियो

LC (KTM) May 30, 2021 0

बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् ।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रअन्तर्गत विकास निर्माणका दृष्टिले पछाडि परेका गौरादह, गौरीगन्ज र कमल गाउँपालिका बजेटमा समेटिन सकेन । कमलमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रियस्तरको रंगशालासमेत दमक सारिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट चिरञ्जीवि घिमिरेले लेखेका छन्।

बजेटमा बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज स्थापना गर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले शुक्रबार मात्र कमल गाउँपालिकास्थित विवादले रोकिएको आदिवासी रंगशाला निर्माणाधीन स्थलमा बनाउने घोषणा गरेका थिए । तर, शनिबार प्रस्तुत बजेटमा त्यहाँबाट सारेर दमकमा योजना पारिएको छ।

दमक– ३ स्थित हम्सेदुम्से सामुदायिक वनमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गर्न बजेट विनियोजन गरिएको छ । यस्तै, दमकमा बसपार्कसहितको सिटी पार्कका लागि पनि बजेट विनियोजन गरिएको छ । सरकारले आठ ठूला सहरमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यक्रम घोषणा गर्दा एउटा सहर दमकलाई रोजिएको छ ।

यस्तै, दमकमा आगामी दुई वर्षभित्र ‍औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख छ । औद्योगिक क्षेत्रको व्यवस्थापन र सञ्चालनमा निजी क्षेत्रको भूमिका र सहभागिता बढाउँदै लगिने र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने बजेटमा उल्लेख छ ।

बिर्तामोड–भद्रपुरलगायत देशका प्रमुख सहरी क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने सरकारले घोषणा गरेको छ । बिर्तामोड–चन्द्रगढीलगायत नगरपालिकालाई मेगा सिटीमा विकास गरिने बजेटमा उल्लेख छ ।

भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न जनताको तटबन्धअन्तर्गत बजेट विनियोजन गरिएको छ । भद्रपुर नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जन पार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सहरी पूर्वाधार आयोजना परेका छन् । भारतको पश्चिम बंगालदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनका लागि बजेट विनियोजन गरिएको छ भने गौरीगन्ज गाउँपालिकामा दिगो, सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर