मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा — OSNepal

मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा

LC (KTM) December 20, 2021 0

काठमाडौं, ५ पुस-नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए ।

विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनै लामासँग न्युज कारखानाले समसामयिक कुराकानी गरेको छ :

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
मलाई एकदमै गाैरव महसुस भइरहेको छ । कांग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाई, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।

केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि पार्टीको तपाईंको भूमिका कस्तो रहन्छ ?
१४औँ महाधिवेशनले पार्टीभित्र उर्जा भरेको छ । युवा साथी तरुण, नेविसंघबाट अध्यक्ष र पूर्वपदाधिकारीको उर्जावान उपस्थिति छ । यसले साँच्चिकै कांग्रेसलाई पुनर्जागरण गर्दै कांग्रेसलाई बलियो बनाउन अवश्य पनि मद्दत पुग्छ । झण्डै ६ दशक राजनीतिमा सक्रिय सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उर्जावान महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङजस्ता युवा साथी जितेर आउनुभएको छ । अब नेपाली कांग्रेस अब साँच्चिकै उर्जावान कांग्रेस बन्नेछ ।

तपाईंले केन्द्रीय सदस्यमा विजयी हुन्छु भनेर सोच्नुभएको थियो ?
पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमान्दारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा थिए । त्यसकारण मलाई जित्छु भन्ने विश्वास थियो ।

तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँगै तपाईं कांग्रेसमा आउनुभयो । उहाँ उपसभापतिमा पराजित हुनुभयो, तर तपाई जित्नुभयो । गच्छदार हार्ने र तपाईं जित्ने परिस्थिति कसरी बन्यो ?
यो देशभरबाट आएका प्रतिनिधिले गरेको निर्णय हो । उहाँको हार अब प्राविधिक कारण भनौँ कि अरु कारण मलाई थाहा भएन । लोकतान्त्रिक पार्टीमा चुनावमा गइसकेपछि हारजित स्वीकार्नुपर्छ । हामी स्वीकार्न तयार छौं ।

तपाईं चुनावअघि कांग्रेस प्रवेश गरेको, वर्षोदेखि सक्रिय हार्दा तपाईंको जितलाई लिएर पनि प्रश्न उठिरहेको छ नि !
चुनावअघि हामी देशको चौथो दल थियौँ, फोरम लोकतान्त्रिक पार्टी । २०७४ को चुनावमा ध्रुवीकरण भयो । कम्युनिस्टको समीकरण बन्यो । लोकतान्त्रिक शक्ति भएको हुनाले हामीले कांग्रेससँग समायोजन भयौं । केही साथी कांग्रेसबाट चुनाव पनि लड्यौं । केही साथी जित्नुभयो, केही हार्नुभयो । हारजित स्वभाविक हो ।

तपाईं कांग्रेसको सक्रिय राजनीतिमा उदाउँदै गर्दा तपाईंमाथि ‘गुण्डा नाइके’को आरोप लाग्ने गरेको छ नि ! यसमा तपाईंको धारणा के हो ?

यो मलाई लामो समयदेखि लाग्दै आएको आरोप हो । म लामो समयदेखि निरन्तर राजनीतिमा लाग्दै आएको व्यक्ति हो । नेविसंघबाट सुरु गरेर एउटा लोकतान्त्रिक चौथो पार्टीको जिम्मेवार पदमा बसेको पनि लामो समय भयो । तपाईंले यो प्रश्न उठाइरहँदा मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन । अस्ति भर्खरै एक अन्तर्वार्ता (ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रम) मा एकजना पूर्वमाननीयले बारको आन्दोलन र बारका वरिष्ठ अधिवक्ताको बारेमा अदालतमा गुण्डागर्दी गर्‍यो, दादागिरी गर्‍यो भनेर भने ।

त्यहाँबाट मलाई मनमा लाग्यो कि यो गुण्डा नाइके भन्ने शब्द जतिखेर जसलाई मन परेन भने प्रयोग गर्ने शब्द हो कि ? उहाँले वरिष्ठ अधिवक्ता शम्भु थापालगायत विभिन्न वकिलको नामै लिनुभयो । यसलाई के भन्नुहुन्छ तपाईं ? शम्भु थापा गुण्डा हो कि हैन ? गणेश लामा गुण्डा हो कि हैन ? तपाईंहरुले त्यसरी पहिचान गर्नुपर्‍यो ।

तर कांग्रेसको मतपरिणामलाई लिएर धेरैबाट गुण्डा नाइकेले जिते, प्राध्यापक-बौद्धिक व्यक्ति हारे भनेर टिप्पणी भइरहेको छ नि !
जसले जस्तो काम गर्‍यो, पार्टीभित्र उस्तै माया र समर्थन पाउने हो । मैले पार्टी जहाँ खटायो इमान्दारिताका साथ काम गरेको छु । यो र त्यो भन्ने होइन । मैले निर्वाह गरेको जिम्मेवारीको मूल्यांकन भएको छ । त्यहिँ मूल्यांकनको आज प्रतिफल पाए जस्तो लाग्छ ।

कांग्रेसमा अब तपाईं कसरी अगाडि बढ्नु हुन्छ रु तपाईंको भिजन के हो ?
अब सबै मतपरिणाम आइसकेपछि तमाम युवा साथीहरु बैठकमा बस्छौं । हामीले कांग्रेसलाई जुझारु, एउटा जनता, किसान, गरिबसँग मिल्न सक्ने, घुलमिल हुनसक्ने कांग्रेस बनाउन चाहन्छौं ।

प्रश्न के पनि आइरहेको छ भने गगन थापा र गणेश लामा एउटै टिममा कसरी काम गर्नसक्छन् ?
किन गर्न नसक्ने रु गणेश लामासँग त्यो भिजन र क्षमता छैन र ? गणेश लामा जनताको सेवाको लागि नै राजनीतिमा लागेको दुई दशक भयो होला ।

तपाईंको भिजन चाहिँ के हो ?
कांग्रेसलाई जनतामुखी, किसानमुखी, युवामुखी बनाउने, नेपाललाई कसरी अगाडि बढाउने भनेर गहन छलफल गरेर अगाडि बढ्ने हो । टिम बनाउछौं । छलफल गर्छौं । नेपाली कांग्रेस नेपालको पुरानो इतिहास भएको, हरेक परिवर्तनको सम्वाहक भएको पार्टी हो । नेपालमा अझै धेरै विकास गर्नुछ । राजनीतिक समस्याहरु हल गर्नुछ । त्यो कांग्रेस बाहेक अरुले गर्न सक्दैन । यसमा हामी बलियो उपस्थितिसहितको कांग्रेस बनाउनेछौं ।

अन्तिममा तपाईंलाई गुण्डा नाइके भन्नेलाई के भन्न चाहनुहुन्छ ?
यो प्रश्नको म सँग कुनै जवाफ छैन । मलाई गुण्डा नाइके भनेर चिनाउने मिडिया नै हुन् । तैले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्‍यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दु:ख लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर