माओवादी महाधिवेशन : शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीलाई आमन्त्रण — OSNepal

माओवादी महाधिवेशन : शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीलाई आमन्त्रण

LC (KTM) December 26, 2021 0

काठमाडौँ, ११ पुस- राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ ।आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजना हुुने उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ ।

झापामा रहनुभएका एमाले अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता जनाउने जानकारी दिनुभएको बताइएको छ ।उद्घाटनसत्रमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष ओलीलाई टेलिफोन गरेर आग्रह गर्नुभएको थियो । फोनमा एमाले अध्यक्ष ओलीले आफू झापामा रहेको भन्दै सकेसम्म आफू नै आउने र सम्भव नभए महासचिव पोखरेल सहभागी हुनुहुने जानकारी गराउनुभएको थियो ।

उद्घाटनसत्रमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि आमन्त्रण गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रुपमा बोलाइएको प्रवक्ता महराले जानकारी दिनुभयो । यसअघि राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने निर्णय भएकामा त्यसलाई महाधिवेशनमा रुपान्तरण गरिएकाले अतिथि बोलाइएको माओवादीको भनाइ छ । महाधिवेशनमा रुपान्तरण गरिएकाले १ बजेका लागि पूर्वनिर्धारित उद्घाटन समारोह ३ बजे आयोजना गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर