माओवादी केन्द्रको महाधिवेशन : शेरबहादुर, माधव, उपेन्द्रसहितका नेता प्रज्ञा भवनमा (फोटोफिचर) — OSNepal

माओवादी केन्द्रको महाधिवेशन : शेरबहादुर, माधव, उपेन्द्रसहितका नेता प्रज्ञा भवनमा (फोटोफिचर)

LC (KTM) December 26, 2021 0

काठमाडौं, ११ पुस – नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन् ।

यही बीचमा नेपाली कांग्रेसको १४औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी नहुने कुरै भएन । देउवा पहिलोपल्ट १०–१३ मंसिरमा चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका थिए । प्रधानमन्त्री भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको महाधिवेशनकै मञ्चमा भेट भएको थियो । ओलीले देउवालाई हातमा समातेर लगेका थिए ।

त्यसपछि १५–१७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको राप्रपाको महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा उपस्थित भएका थिए । नेपाली कांग्रेसको सभापतिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । उनले अरुलाई पनि आफ्नो प्रतिनिधिका रूपमा पठाउन सक्थे । तर, आफैं गए ।

एमाले अध्यक्ष ओलीले राप्रपाको महाधिवेशनमा उपाध्यक्ष ईश्वर पोखरेल र माओवादी केन्द्रको महाधिवेशनमा महासचिव शंकर पोखरेललाई पठाएका छन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा आफैं उपस्थित भएका थिए । आइतबार देउवा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका छन् ।

एकीकृत माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र राप्रपाको महाधिवेशनमा अतिथि बनेर गएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रको महाधिवेशनमा अतिथि बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर