हुम्लामा दुई फिटसम्म हिउँ जमेर स्थानीयलाई घरबाहिर निस्कन समस्या — OSNepal

हुम्लामा दुई फिटसम्म हिउँ जमेर स्थानीयलाई घरबाहिर निस्कन समस्या

LC (KTM) December 27, 2021 0

सिमकोट, १२ पुस-उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिनुभयो । “हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ ।” उहाँले रासससँग भन्नुभयो, “हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन ।”

गत मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ । जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालयले जनाएको छ ।

हिमपातले दक्षिण क्षेत्रका किसान खुसी- लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी छन् । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुुशी भएका अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिनुभयो । हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर