मुस्ताङमा कालोपत्र र ग्राभेलको काम धमाधम ,म्याग्दीको काम सुस्त — OSNepal

मुस्ताङमा कालोपत्र र ग्राभेलको काम धमाधम ,म्याग्दीको काम सुस्त

LC (KTM) December 27, 2021 0

बेनी, १२ पुस-राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्र र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकांश कालोपत्र गरिएको छ । यो खण्डको सडक कालोपत्रका लागि शर्मा गजुरमुखी जेभीसँग रु ५४ करोड ३० लाखमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर ग्राभेल सडकलाईसमेत कालोपत्रका लागि ठेक्का सम्झौता भइसकेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडकजम्मा ६५ प्रतिशत प्रगति हुँदा जोमसोमदेखि–कोरलासम्मको ११० किलोमिटर लामो सडकखण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

बेनी–जोमसोम खण्डका चारवटा प्याकेजमध्ये मस्ुताङमा पर्ने कैकुखोलादेखि खन्तीसम्मको प्रगति सन्तोषजनक छ । खन्तीदेखि जोमसोमसम्मको सडकको जिम्मा लिएको कोसी पप्पु गौरीपार्वती एण्ड न्यौपाने जेभिलाई काम सक्न ताकेता गरिएको आयोजनाले जनाएको छ । यस खण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा पर्ने सडकको काम कुनैपनि सन्तोषजनक छैन् । आगामी चैतसम्म म्याद थप भए पनि यस खण्डमा निर्माण कम्पनीले उल्लेख्य मात्रामा जनशक्ति र मेसिन उपकरण परिचालन गर्नसकेका छैनन् ।

म्याग्दीको गलेश्वरदेखि मुस्ताङका्े जोमसोमसम्मको ७५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लगाइएको थियो । “म्याग्दी खण्डमा काम गर्न निकै चुनौतीपूर्ण भयो, रुप्सेखोलादेखि लेतेसम्म, गलेश्वर, बेगखोला, तातोपानीलगायतका क्षेत्रमा बाढीपहिरो र नदी कटानले निर्माण कार्यमा प्रत्यक्ष प्रभाव पारेको छ, निर्माण कम्पनीको ढिलासुस्ती पनि समयमै काम नहुुनुको मुख्य कारण हुन्’’, आयोजना प्रमुख प्रजापतिले भन्नुभयो ।

हिउँदयाममा समेत म्याग्दी खण्डको काममा पर्याप्त मजदूर र मेसिन उपकरण कार्यक्षेत्रमा परिचालन हुनसकेको छैन् । गलेश्वरदेखि– नारच्याङ पुलसम्मको २० किलोमिटर सडकको जिम्मा लिएको शर्मा युनाइटेड जेभिले ६५ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ । उसले गरेको यो प्रगतिमा गत वर्षातमा बाढीपहिरोले क्षति पु¥याएको छ । तर अहिले पनि कम्पनीले कामलाई तीव्रता दिन सकेको छैन् ।

नारच्याङपुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले अहिलेसम्म ६० प्रतिशत काम गरेको छ । यस खण्डमा पर्ने अक्करे पहाड ‘काभ्रेभिर’मा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार गर्नुपर्नेछ । यस खण्डमा अहिले पूर्ण रुपमा काम बन्द छ ।

विसं २०७४ जेठमा ६३ करोड ५२ लाखमा २०७६ मङ्सिरमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको यस कम्पनीको म्याद आगामी चैतसम्म थप भएको छ । काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तारका लागि सव कन्ट्र्याक्टर कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गर्ने तयारी गरिएको शर्मा गजुरमुखीका प्रतिनिधि नरेन्द्र न्यौपानले जानकारी दिनुभयो । ‘‘तत्काल मेसिन साइटमा पठाएको छौ, काभ्रेभिरमा चार महिनामा कामसक्ने गरी साइट कन्ट्र्याक कम्पनीसँग सम्झौता गरेका छौँ, अन्य कामलाई चैतसम्म सम्पन्न गर्ने हाम्रो जोडबल छ”, उहाँले भन्नुभयो ।

गलेश्वरदेखि नारच्याङपुलसम्मको सडकमा समेत न्यून जनशक्ति परिचालन भएका छन् । तातोपानी र बेगखोला क्षेत्रमा थोरै जनशक्ति र मेसिन परिचालन गरेर काम सुरु भए पनि हिउँदयाममा हुनुपर्ने तयारीका साथ निर्माण कम्पनीले काम अघि बढाएको छैन् । म्याग्दी खण्डको काममा भएको ढिलासुस्तीबारे पटकपटक आयोजना र निर्माण कम्पनीलाई ताकेता गरिए पनि उल्लेख्य मात्रामा कामलाई तीव्रता दिन नसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो ।

बेनीदेखि जोमसोम खण्डको काम सम्पन्न नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लावासी र यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलेसमेत सास्ती व्यहोर्दै आएका छन् । जोमसोमको पुथा एयरपोर्ट गाउँका पूर्व गाउँमुखीया रहनुभएका शेरबहादुर गुरुङले बेनी–जोमसोम–कोरला सडक आयोजना समयमै सम्पन्न नहुँदा बर्खायाममा सास्ती व्यहोर्नुपरेको गुनासो गर्नुभयो । ‘‘ मुस्ताङी जनताले मात्रै होइन यस क्षेत्रको भ्रमणमा आउने पर्यटक र मुक्तिनाथको दर्शन गर्न आउने हजारौँ भक्तजनले सास्ती व्यहोर्नुपरेको छ, निर्माण व्यवसायी कम्पनीलाई आयोजना र नेपाल सरकारलेसमेत आवश्यक ताकेता गरेर कामलाई गति दिनतर्फ ध्यान दिनुपर्ने देखिएको छ’’, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर