पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे — OSNepal

पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

LC (KTM) December 27, 2021 0

नवलपुर, १२ पुस -चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।
यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताउनुभयो । त्यस्तै मङ्सिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

त्यसैगरी निकुञ्ज घुम्ने पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म रु एक करोड २९ लाख ९५ हजार १५० राजस्व सङ्कलन गरेको छ । निकुञ्जले सबैभन्दा बढी राजस्व मङ्सिर महिनामा सङ्कलन गरेको भन्दै सूचना अधिकारी तिवारीले मङ्सिरमा मात्रै रु ५४ लाख १२ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिकमा रु ५१ लाख १४ हजार ८५०, असोजमा रु १५ लाख दुई हजार ७००, भदौमा रु छ लाख ११ हजार २५०, साउनमा रु तीन लाख ५४ हजार ३५० राजस्व सङ्कलन भएको छ ।

निकुञ्जले यहाँ घुम्न आउने पर्यटकबाहेक अन्य गतिविधिबाट समेत राजस्व सङ्कलन गर्दै आएको छ । निकुञ्जले चालू आव २०७८÷७९ मा विभिन्न शीर्षकमा रु दुई करोड ४१ लाख १५ हजार ८१८ राजस्व सङ्कलन गरेको तिवारीले बताउनुभयो । उहाँका अनुसार गैरकाष्ठ वन पैदावार बिक्री वितरणबाट रु १९ लाख ४२ हजार १३३, पर्यटक, जीप सफारी र नदीजन्य पैदावारबाट रु एक करोड ९० लाख १४ हजार ५५०, दण्ड जरिवानाबाट रु २० लाख ४७ हजार ६१० तथा नेचर गाइड र माछा मार्ने अनुमति शीर्षकमा रु ११ लाख ११ हजार ५२५ राजस्व सङ्कलन भएको छ ।

विसं २०७२ को भूकम्पका कारण घटेका निकुञ्ज घुम्ने पर्यटक विस्तारै बढ्ने क्रममा थियो । दुई वर्ष अघिदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आव २०७७÷७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए भने अघिल्लो आव २०७६÷७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर