यी २५ समूहले दिनेछ अध्यक्ष प्रचण्डलाई सुझाव — OSNepal

यी २५ समूहले दिनेछ अध्यक्ष प्रचण्डलाई सुझाव

LC (KTM) December 27, 2021 0

काठमाडौँ, १२ पुस -नेकपा (माओवादी केन्द्र)को बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।

बन्दसत्रको सुरुमा कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्षमण्डल चयन गरिएको थियो । अध्यक्षमण्डलमा गिरीराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य रहनुभएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहलाई प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफलको स्थान तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी एनके प्रसाईँले पाउनुभएको छ । समूह २ र ३ मा पार्टीका सल्लाहकारहरू रहेका छन् । सो समूहलाई छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधि सहभागी छन् । सो समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको स्थान तोकिएको छ । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाउनुभएको छ ।

समूह ६ र ७ मा प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । सो प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्ने छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाउनुभएको छ । समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्नेछन् । सो समूहलाई संयोजन गर्ने जिम्मेवारी नेता चक्रपाणि खनालले पाउनुभएको छ ।

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको छलफल गर्ने स्थान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गर्नुहुने छ । समूह १२ प्रवास प्रदेशका प्रतिनिधि अटाएका छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श गर्नेछन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त हुनुहुन्छ ।

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्नेछ । संयोजनको जिम्मेवारी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पाउनुभएको छ । समूह १५ र १६मा सुदुरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहले पनि एवान पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान मस्यौदामाथि आफ्नो सुझाव दिनेछन् । समन्वय गर्ने जिम्मेवारी भने खगराज भट्टले पाउनुभएको छ ।

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । सो समूहले क्वालिटी बैक्वेक, बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । उक्त समूहले क्वालिटी बैक्वेट, बुद्धनगरमा पार्टीको भूमिका र प्रतिवेदनमाथि छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिंखडा हुनुहुन्छ ।

समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । समन्वय गर्ने जिम्मेवारी नेता कृष्ण अधिकारीलाई दिइएको छ । समूह २२ र २३ मा बागमति प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैक्वेट, थापागाउँ रहेको छ । समन्वय गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाउनुभएको छ ।

समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैक्वेट, थापागाउँमा बसेर छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पाउनुभएको छ । समूह २५मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । सो समूहले काठमाडौँ बैक्वेट, थापागाउँमा छलफल गर्नेछ । सो समूहको समन्वय गर्ने जिम्मेवारी नेत्री अमृता थापामगरले पाउनुभएको छ ।

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने छन् । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने व्यवस्था गरिएको छ । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने गरी निर्धारण गरिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर