सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यावन्यनमा समस्या — OSNepal

सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यावन्यनमा समस्या

LC (KTM) December 27, 2021 0

वाग्मती १२ पौष । राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाँलले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यावन्यनमा समस्या हुने गरेको बताएका छन् ।

साथै उनले सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य अनुमानित सहयोगबाट बजेट निर्माण गर्दा त्यो स्रोत दिगो नहुँदा योजना तथा आयोजना कार्यावन्यनमा कठिनाइ उत्पन्न हुने गरेको छ भने ।

राष्ट्रिय योजना आयोगद्वारा आज हेटौडामा आयोजित मध्यकालीन खर्च संरचना, आयोजना बैंक र समपूरक तथा विशेष अनुदानको सफ्टवेयर र सञ्चालन एवं दिगो विकास लक्ष्यको स्थानीयकरणसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै योजना कार्यावन्यनका लागि बजेट आवश्यक रहेको उनले बताए ।

डा फुयाँलले सङ्घीय, प्रदेश र स्थानीय गरी देशमा ७६१ सरकार रहेको र समन्वयको अभावले विकास योजनाको कार्यावन्यनमा दोहोरोतेहेरो खर्च हुने गरेकाले समन्वय र सुशासनका लागि एकीकृत सफ्टवेयर आवश्यक रहेको तथा त्यसका लागि आयोग क्रियाशील रहेको जानकारी दिए ।

वाग्मती प्रदेशका प्रमुख सचिव किरणराज शर्माले कर्मचारीको कमीले सरकारको योजना तथा कार्यक्रम सञ्चालन र कार्यावन्यनमा समस्या रहेको बताउँदै विकास योजनालाई तीनै तहका सरकारले विधिसंवत् तरिकाले सञ्चालन गर्नुपर्ने बताए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामलाल भुसालले वर्तमान समय आधुनिकीकरणको युग भएकाले नेपालको वर्तमान मध्यकालीन खर्च संरचनालाई सफ्टवेयरमार्फत कार्यावन्यन गर्नुपर्ने विचार व्यक्त गरे ।

दुई दिनसम्म संचालन हुने सो क्षमता विकास कार्यक्रममा वाग्मती प्रदेश आर्थिक तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा र आयोगका कार्यक्रम निर्देशकद्वय यदुनाथ आचार्य र पुरुषोत्तम सुवेदीले पनि सरकारको तीन तहबीचको मध्यकालीन संरचनाबारे बोल्नुभएको थियो ।
सो कार्यक्रममा सङ्घीय, प्रदेश र स्थानीय तहका कर्मचारीको सहभागिता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर