आजका मुख्य समाचार : माओवादी महाधिवेशन बन्दसत्रको चर्चादेखि १२० देशसँग नेपालको व्यापार घाटासम्म — OSNepal

आजका मुख्य समाचार : माओवादी महाधिवेशन बन्दसत्रको चर्चादेखि १२० देशसँग नेपालको व्यापार घाटासम्म

LC (KTM) December 27, 2021 0

काठमाडौं, १२ पुस-नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दै केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने प्रस्ताव गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् । पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

  • यस्तै न्युज कारखानाले नेपालको १४३ देशसँग रहेको व्यापार घाटालाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को मंसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलतामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्व ३५ अर्व व्यापारघाटा भएको छ । नेपालको कुल व्यापारघाटामध्ये आधा भन्दा बढि व्यापारघाटा भारतसँग देखिएको छ ।

  • यसका साथै नेपाली कांग्रेसको प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह वर्चश्व देखिएको छ । नौ दाधिकारीसहित ६७ जना प्रदेश कार्यसमितिको लागि भएको निर्वाचन परिणाम देउवा पक्षमा देखिएको हो । देउवा समूहकबाहेक दुई जना मात्र विमलेन्द्र निधि र शेखर कोइराला समूहबाट सदस्यमा निर्वाचित भएका छन् ।

निधि–कोइराला समूहका खुला सदस्यमा जीवना चौधरी र महिला खुलातर्फ रेखा यादव निर्वाचित भएका छन् । त्यसबाहेक सबै पदमा देउवा समुहकै निर्वाचित भएको निर्वाचन समितिका एक पदाधिकारीले बताए ।

  • न्युज कारखानाले जाजरकोटको बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीको सत्कर्मलाई पनि महत्वका साथ प्रकाशित गरेको छ । बारेकोट गाउँपालिकाकी उपाध्यक्ष शाही चिसो मौसममा न्यानो कपडा वितरण गर्न गाउँगाउँ पुग्ने गरेकी हुन् ।

आर्थिक रूपमा पछि परेका एकल तथा जेष्ठ महिलालाई उपाध्यक्ष शाहीले गाउँगाउँ पुगेर न्यानो कपडा वितरण गरेकी हुन् । जिल्लाको सबैभन्दा चिसो र हिमाली क्षेत्र नजिक पर्ने बारेकोट गाउँपालिकाकी उपाध्यक्ष शाहीले एकल महिलाका न्यानो बनाउन कपडा वितरण गर्न थालेपछि यहाँका महिलाहरू खुसी भएका छन् ।

  • यस्तै हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता भएका हुन् । २०७७ पुसदेखि २०७८ पुसम्म एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय हुम्लामा सो परिमाणको मुद्दा दर्ता भएका हुन् ।

गाउँघरमा मिलापत्र हुने भएका कारण जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् । जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झैझगडा गरेकाको हकमा ठाडो उजुरी परेका १४ वटा घटनाबाहेक अन्य भवीतव्य, जबर्जस्ती करणी, जबर्जस्तीकरणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डिएको, ज्यान मार्ने उद्योग, बहुविवाह, अपरहण तथा शरीर बन्धकलगायतका रहेको प्रहरी निरीक्षक दामु पुनले बताए ।

  • कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले धनगढी विमानस्थललाई स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरेको हो । विमानस्थलका लागि २५० विघा जग्गा अधिग्रहण गर्ने र धावनमार्ग विस्तार गरी २५ सय मिटर पुर्‍याउने लक्ष्य राखिएको छ । प्राधिकरणले सुदूरपश्चिमका बाँकी नौ विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ ।

  • आज नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

  • यसका साथै भारतमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ । कोरोना संक्रमण बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो ।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर