सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति सिंह — OSNepal

सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति सिंह

LC (KTM) December 28, 2021 0

कर्णाली-मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्राडा सिहले भन्नुभयो, “नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून पढ्ने उद्योगमन्त्री बन्ने संस्कार आज पनि छ । अब नेपालको पार्टी र सरकारले सांसदलाई मन्त्री हुने कुराबाट बन्द गर्नुप¥यो ।”

नेपालका पार्टी र प्रधानमन्त्रीलाई आग्रह गर्दै उपकुलपति प्राडा सिंहले भन्नुभयो, “मान्नुहुन्छ भने कुनै पनि सांसदलाई मन्त्री हुने बाटो बन्द गर्नुहोस् । त्यो परम्पारलाई अन्त्य गर्नुहोस् । अब विज्ञानको विज्ञ विज्ञानमन्त्री, शिक्षाको विज्ञ शिक्षामन्त्री, उद्योग क्षेत्रको विज्ञ उद्योगमन्त्री र शहरी विकासको विज्ञ शहरी विकासमन्त्री बनाउने संस्कारको विकास गर्नुहोस् ।”

उहाँले प्रधानमन्त्रीलाई उत्कृष्ट र विज्ञ व्यक्तिलाई मन्त्री बनाउन पनि अपिल गर्नुभयो । विज्ञ जनशक्तिले मात्र देश बनाउन सक्ने उहाँको जिकिर थियो । पत्रकार सम्मेलनमार्फत उहाँले विश्वविद्यालयबाट १५ श्रेणीका अवार्ड तथा कदर एवं प्रशंसापत्र घोषणा गरिएको जानकारी दिनुभयो । सो अवसरमा उपकुलपति सिंहले विश्वविद्यालयको एघारौँ सभामा भएका गतिविधि र खर्चको पनि स्पष्ट जानकारी दिनुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर