सर्लाहीको बयलवासमा निषेधाज्ञा जारी — OSNepal

सर्लाहीको बयलवासमा निषेधाज्ञा जारी

LC (KTM) December 28, 2021 0

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

विषयलाई लिएर स्थानीय र प्रहरीबीच आज झडप हुँदा प्रहरीले चलाएको गोली लागेर आन्दोलित स्थानीयवासी पनि घाइते भएका छन् । ईश्वरपुर–५ का १५ वर्षीय बालक सञ्जय महतोलाई खुट्टामा गोली लागेको छ । उनको उपचारका लागि जनकपुरमा पठाइएको छ । चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका दिगम्बर महतोलाई घुडामा पलाष्टिकको गोली लागेको छ । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्वमा ईश्वरपुर–४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा वडा नं ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख छ । सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनीलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताउनुभयो । पीडित पक्षसँग भएको वार्तामा कुनै सहमति हुन नसकेको र आन्दोलत नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकै बीच स्थानीयवासीले बयलवास बजारमै रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज अगाडि नाराबाजी जारी राखेका छन् ।

आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज बिहानैदेखि बारम्बार झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्याससहित हवाई फायर गरे पनि प्रदर्शन रोकिएको छैन । दोहोरो झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी, प्रहरी निरीक्षक कृष्ण गिरीसहित डेढ दर्जन नेपाल प्रहरी र सोही हाराहारीमा सशस्त्र प्रहरी पनि घाइते भएका छन् । आन्दोलित स्थानीयवासीले नगरपालिका प्रमुख मनोजकुमार देवकोटामाथि आक्रमण गरेका छन् । मृतक रामकुमार महतोको परिवारसँग भेट्न उहाँकै घरमा पुग्नुभएका नगरप्रमुख देवकोटामाथि त्यहीँ आक्रमण भएको हो । घाँटीमा चोट लागेर घाइते नगर प्रमुख देवकोटा उपचारका लागि महोत्तरीको बर्दिवास पुग्नुभएको छ ।

नगरप्रमुख देवकोटा चढ्ने ना १ झ १५७० नम्बरको सुमोको सिसा पनि तोडफोड भएको छ । आइतबार राति ईश्वरपुर–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ना ४३ प ५०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रामकुमारको मृत्यु भएको थियो । उहाँको मृत्युपछि स्थानीयवासी सोमबारदेखि नै आन्दोलित छन् । आन्दोलित स्थानीयवासीले हिजो अपराह्न इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगजनी गरेका थिए । तनाव बढ्दै गएपछि बयलवास–२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक मसाउँद आलम खाँको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक खाँ, प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईसहित जिल्लाका सुरक्षा अधिकारी घटनास्थलमै रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर