कैलालीको टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान — OSNepal

कैलालीको टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

LC (KTM) May 31, 2021 0

कैलाली- कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आउनुभएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गरिरहनुभएका डा अभिषेक न्यौपानेमार्फत टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा रेमकुमार राईलाई रु पाँच लाख बराबरको उक्त कन्सन्ट्रेटरहरू एक कार्यक्रमका बीच प्रदान गरिएको थियो । बेलायतमा स्थापित समाजसेवीका रूपमा परिचित भट्टराई परोपकारी संस्था कोडेकका अध्यक्षसमेत हुनुहुन्छ । उहाँले गिरीसँगै मिलेर हचटिआर नामक मानव श्रम व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा रोजगारीसमेत दिँदै आइरहनुभएको छ । त्यस्तै महर्जन पेशाले इन्जिनियर हुनुहुन्छ । उहाँले भट्टराईकै संस्थामा प्राविधिकरूपमा सहयोग गरिरहनुभएको छ ।

“तीनै जना कोभिड सङ्क्रमित भई हाल निको भएका छौँ, बेलायत जस्तो देशमा त हामीलाई यति गाह्रो भयो भने नेपालमा कति गाह्रो होला भन्ने सोचेर हामी तीन जनाले सहयोग गर्ने निर्णय गरेका हौँ”, भट्टराईले भन्नुभयो । भट्टराई अध्यक्ष रहेको परोपकारी संस्थाले पनि कोरोना सङ्क्रमितका लागि सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर