बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, गहुँबाली सप्रिने आशा — OSNepal

बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, गहुँबाली सप्रिने आशा

LC (KTM) December 29, 2021 0

बैतडी, १४ पुस । बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हाे ।
हिमपात अहिले पनि जारी छ ।

हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए । बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

टिएमजे क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित : तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे,मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मंगलबार राति वर्षासँगै हिउँका कारण जनजीवन प्रभावित बनेको हो ।

खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन् । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब चार फिटसम्म हिउँ जमेको टुटेदेउरालीका श्री कार्कीले बताए ।

उनका अनुसार चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी, मंगलबारे, चौकी गुफा लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ ।

‘बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । पशुचौपया चरनमा नै कति हराएका छन् । सडकमा सवारीसाधन गुड्न समेत समस्या हुँदा यस क्षेत्रमा आएका पर्यटकहरु यात्रा गर्न झनै समस्या भएको छ,’ उनले भने ।

घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेका छन् । हिउँका कारण अत्यधिक चिसो बढेको छ । चिसोका कारण नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ ।

यहाँका नागरिक आगो तापेर घरमै बस्नुको विकल्प नरहेकाे स्थानीय छिरिङ शेर्पाले बताए । यस क्षेत्रमा हिउँ पर्दा छिमेकी जिल्ला र तराईका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । तर,हिउँ परिरहेकोले यात्रा गर्न समस्या भएको छ ।

खासगरी यहाँ पर्यटक हिउँ खेल्न र गुराँस फुल्ने सिजनमा गुराँसले रंगिएको वनमा रमाउने गरेका छन् । गुराँसको राजधानीको रुपमा चिनिएको तिनजुरे,मिल्के र जलजले पर्यटकीय रुपमा परिचित नाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर