ललितपुरमा केकका प्रकार र परिकार थाहा पाउन केक मेला — OSNepal

ललितपुरमा केकका प्रकार र परिकार थाहा पाउन केक मेला

LC (KTM) December 30, 2021 0

ललितपुर १५ पुस- राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला ।
केक मेला (बेक फेस्ट) अर्थात् ‘बेकरी फेस्टिबल’ हामीले प्राय प्रयोगमा ल्याउने केक अर्थात् बेकरी परिकारका बारेमा जानकारी दिन आयोजना गरिएको हो । ललितपुरको पुल्चोकस्थित लबिम मलमा बुधबारबाट सुरु भएको यो मेलामा केकका प्रकार र परिकार राखिएको छ । जहाँ दर्शक पुगेर एकै ठाउँबाट एक सयभन्दा बढी केकका प्रकार र परिकारको जानकारी र स्वादको आनन्द लिने गरिरहेका छन् । अनि केकका पारखीहरुका लागि यो अवसर जुटाइदिएको छ बे्रकर्स हब नेपालले ।

केक नेपालमा पनि प्रायः जन्मदिन, वैवाहिक वार्षिकोत्सव, कुनै संस्थाको वार्षिकोत्सव अथवा भनौँ कुनै नयाँ र शुभकार्यको थालनीका लागि प्रयोग गर्ने गरिन्छ । पछिल्ला वर्षहरुमा नेपालमा केक काट्ने संस्कार नै बसेको छ तर यसरी नेपालीको संस्कार बनिसकेको केक के कसरी बन्छन् र ती कति प्रकारका र कस्ता हुन्छन् भन्नेबारेको जानकारी भने थोरैमात्र मानिसलाई होला । त्यसैले यही विषयमा जानकारी दिन र विभिन्न प्रकारका केकको स्वाद चखाउने उद्देश्यले ‘बेक फेष्ट’ को आयोजना गरिएको बताउनुहुन्छ बेकर्स हबकी संस्थापक दीपा भुसाल ।

“यसअघि विभिन्न प्रकारका खाद्यवस्तुको मेला (फुड फेस्टिबल) नेपालमा हुुने गरेकामा केक तथा बेकरीका परिकारका बारेमा भने नेपालमा हामीले पहिलोपटक यो मेलाको आयोजना गरेका छौँ”, भुसालले बताउनुभयो । शुक्रबारसम्म सञ्चालन हुने यो मेलाको बुधबार उद्घाटन भएको हो । यस मेलाको उद्घाटन तथा त्यसपछि सो मेलामा पुगेका युवा एवं व्यवसायीले यस्ता कार्यले नेपालमा पनि युवा उद्यमशीलताको विकास हुनुका साथै नवप्रवर्तन व्यवसायको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

केक तथा बेकरीका परिकारको व्यवसाय गरीरहेका व्यवसायीले आफूले बनाएका परिकारको सही जानकारी र नयाँ उत्पादनको बारेमा सर्वसाधारण तथा खानामा चासो राख्ने पारखीलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरेको भुसाल बताउनुहुन्छ । मेलामा प्रत्यक्षरुपमा सेफहरुद्वारा केक तथा बेकरीका परिकार बनाइनुका साथै परिकारको प्रदर्शनी गरिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिनसम्म सञ्चालन हुने यस मेलाले नयाँ वर्षका लागि केक बिक्री गर्ने उद्देश्य पनि राखेको छ । प्रत्यक्ष बेकिङ्, बेकरी प्रदर्शनी, शेफ च्यालेञ्ज, केक रनवे, रोमाञ्चक खेल, साङ्गीतिक कार्यक्रमलगायत पनि सञ्चालन हुने भुसालले जानकारी दिनुभयो । यस मेलामा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका पाककलासमेत प्रस्तुत हुने बताइएको छ । ‘बेक फेष्ट’मा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको पाककलाको प्रस्तुतिका साथै सेफ च्यालेञ्ज जस्ता कार्यक्रम पनि आयोजना गरिएको छ । केकका परिकारका साथमा केक रनवे कार्यक्रम यहाँको अर्काे अकर्षण रहेको छ ।

मेलामा केक तथा बेकरीका परिकारका साथै यस्ता परिकार बनाउन आवश्यक सीप तथा प्रविधिका बारेमा समेत जानकारी दिने गरिएको छ । केकका पारखीका साथै केक बनाएर बेकरी व्यवसाय सञ्चालन गर्ने व्यक्तिका लागि पनि यो मेला लाभदायक हुने यो मेलामा आएका पोखराका अरबिन्द आचार्यले बताउनुभयो । यो मेला र केकप्रति मानिसको आकर्षण देखेर आफूले पनि सानोतिनो बेकरी सञ्चालन गरौँ भन्ने आफूलाई लागेको विचार उहाँले सुनाउनुभयो ।

युवा उद्यमीको नयाँ सोच-केक तथा बेकरी व्यवसायलाई सर्वसुलभ तथा व्यवस्थित गर्न र बजारमा स्थापित गर्न बेकर्स हब नेपालले प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत केक तथा बेकरीका परिकार बिक्री गर्दै आएको छ । एक वर्षअघि सुरु भएको बेकर्स् हबले देशमा बेकरीका क्षेत्रमा राम्रो प्रभाव पार्न सकिएको र यस व्यवसायलाई संस्थागत विकास गर्न थप कार्यहरु गर्ने तयारीमा रहेको पनि सो संस्थाकी सञ्चालक भुसालको भनाई छ ।

प्रविधिको प्रयोग तथा जनमानसमा अनलाइन व्यापरको ज्ञान र प्रयोग बढ्दै गएकाले केक तथा बेकरीका परिकार पनि अनलाइनमार्फत घर तथा संस्थामै पु¥याउन थालिएको छ । यसका कारण पछिल्लो समयमा माग पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो । केक तथा बेकरीका शुद्ध र स्वस्थकर परिकार उपभोक्ताले चाहेको समयमा खासगरी उपत्यकाका तीनै सहरमा सहजै उपलब्ध गराउँदै आएको उहाँ बताउनुहुन्छ । आफूहरुका उत्पादनभन्दा पनि साना तिना पसलमा मात्र उपलब्ध हुने गरेका केक र बेकरी आइटम हामी युवाको संस्थागत प्रयासलाई धेरै उपभोक्ताले मन पराएको उहाँले सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर