काल बन्दै कोइला : सामान्य असावधानीले ज्यान गुम्नसक्छ,ख्याल गरौ — OSNepal

काल बन्दै कोइला : सामान्य असावधानीले ज्यान गुम्नसक्छ,ख्याल गरौ

LC (KTM) December 31, 2021 0

चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । तीन जना सख्त घाइते छन् ।

कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी कालीकोट खाँडाचक्रका २४ वर्षीय धनप्रसाद भट्टराई, आमा कोकिला, दिदी नन्दकला र नन्दकलाकी तीन महिनाकी छोरीको मृत्यु भएको हो । धनप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवश र भाइ नरेन्द्रको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चिसो बढेपछि कोठा न्यानो पार्न कोइला बालेर सपरिवार आवास गृहको भुइँ तलाको एउटा कोटामा सुतेका र झ्यालढोका पूर्ण रूपमा बन्द रहेको बताए । “चिसोमा कोठा तातो पार्न झ्यालढोका बन्द गरी कोइला बालेर सबै जना सुतेको हुनुपर्छ” घटनास्थल विवरण सुनाउँदै उनले भने, “थप कारण पोस्टमार्टम रिपोर्टबाट खुल्नेछ ।”आजको गोरखापत्र दैनिकमा समाचार छ ।

बिहान अबेरसम्म भट्टराई परिवार नउठेपछि अन्य छिमेकीले नै ढोका ढक्ढक्याएर उठाउने प्रयास गरेका थिए । कोही नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । नन्दकला केही दिनअघि मात्र भाइ र आमा भेट्न आवास गृहमा आएकी थिइन्। यसअघि दोलखाको तामाकोसी गाउँपालिका–२ स्थित झुलेमा पनि श्यामबहादुर तामाङ, उनकी पाँच दिनकी सुत्केरी पत्नी अम्बिका र शिशुको निसास्सिएर मृत्यु भएको थियो । गत मङ्सिर १५ गते सुत्केरीलाई न्यायो पार्न कोइला बालेर सुतेको तामाङ परिवार भोलिपल्ट मृत अवस्थामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर