जनता आवासले विपन्नकाे बास जाेडिदिएपछि... — OSNepal

जनता आवासले विपन्नकाे बास जाेडिदिएपछि…

LC (KTM) December 31, 2021 0

महोत्तरी, १७ पुस -बर्दिबास-३ की रन्जिता विकले बालख छोराछोरीसहित कटेरोमा वर्षाै‌ं गुजारा गरिन् । कटेराेमा हिउँदकाे चिसाे र बर्षायामकाे झरी झेलेकाे पीडा उनीसँग सम्झिनसक्नुको छ । परिवारकाे कमजाेर आर्थिक अवस्थाका कारण उनी अर्काे घर बनाउन सक्ने अवस्थामा पनि थिइनन् । छोराछोरी पढाउन र बिहान बेलुकीकाे छाक टार्न नै उनलाई धौधौ हुन्थ्याे । कटेराेकाे छानामा चित्रा राखेर भए पनि उनी जेनतेन परिवारकाे सुरक्षा गर्दै आएकी थिइन् ।

उनकाे याे पीडामा जनता आवास कार्यक्रमले मलम लगाइदिएकाे छ । जनता आवासअन्तर्गत प्रदेश सरकारले घर बनाइदिएपछि उनी हिजाेआज ढुक्कले निदाउँछिन् । दुई कोठा र एउटा ट्वाइलेटसहित करिब तीन लाखमा बनेकाे उनकाे घरले उनलाई अघिल्ला हिउँद बर्षाकाे पीडा बिर्साइदिएकाे छ ।

‘मेरो श्रीमान पनि हुनुहुन्न, अर्कै श्रीमती ल्याएर बसेका छन् भन्ने सुनेको छु । घरविहीन लालाबालासहितकी महिलाकाे पीडा मैले भाेगेकी छु । मेराे रोइकराइ कसैले सुन्दैन थिए,’ प्रदेश सरकारले बनाइदिएको घरतर्फ हेर्दै उनले खुसी हुँदै भनिन्, ‘ अब त पीडा भुलिसकेँ ।’

रन्जिता विक मात्र हैन उमेरले डाँडा काटिसकेका उनका ससुरा चतुरमान विकको पीडा पनि कम छैन । छोराले बुहारीसहित बुढेसकालका बाआमालाई छाडेर हिँडेपछि कयौं रात जागा नै बसेर बिताएकाे सुनाए । ‘छानो छिचोलेर भित्र चुहिएको पानी थाप्दाथाप्दै रात बित्थ्याे,’ उनले भने, ‘सरकारले नयाँ पक्की घर बनाइदिएपछि अब हामी राम्ररी निदाउन थालेका छाैं । यसपालि भने सरकारले ठूलो गुन लगाएको छ हजुर ।’

सरकारले घर बनाउन पैसा त दियाे तर घर निर्माण गर्ने श्रमिक नपाउँदा केही परिवारले निकै समस्या भाेगेका थिए । यही कारण कतिपयलाई जनता आवास निल्नु र ओकल्नु बनेकाे थियाे । श्रमिकलाई दिने पैसा नहुँदा सबै काम आफैँले गर्नु परेकाे सर्वसाधारणको गुनासो छ । बर्दिबास नगरपालिकामा जनता आवासबाट १३ वटाभन्दा बढी घर बनेका छन् ।

इँट्टा, बालुवा तथा सामानहरू सडकको किनारमा ल्याएर छोडिदिने र निर्माणस्थलसम्म पुर्‍याउन मान्छे नहुँदा समस्या भोगेको चतुरमान विकले बताए । ‘हामी बुढाबुढीको इट्टा बोक्दाबोक्दै पछाडिको छाला गएको छ । कसैलाई काम गर्न बोलाउ पैसा छैन, श्रमदान गर्न बोलाउँ कोही मान्दैनन् । त्यसैले सरकारले दिएको यो घर बनाउन सकिँदैन जस्तो लागेको थियो । जे होस बनाइयो,’ उनले भने ।

जनता आवासमा निर्माणमा सरकारले सामग्रीबाहेक अन्य सहयाेग गरेकाे थिएन । अझ दलितको लागि मात्र छनोट गरिएको कार्यक्रम आफैँमा विवादितसमेत भएको प्रदेशसभा सदस्य सारदादेवी थापाले बताइन् । ‘कतिपय गैरदलितको पनि दलितको भन्दा आर्थिक स्थिति अत्यन्त कमजोर छ । अनि क्षेत्री, ब्राह्मण भएकै आधारमा त्यस्ता सुविधाबाट बन्चित गर्नु ठिक हाेला र ?’ थापाकाे प्रतिप्रश्न छ ।

बर्दिबासबाहेक अन्यत्र कार्यक्रम अलपत्र

बर्दिबास नगरपालिकाबाहेक महोत्तरीको अन्य पालिकामा याे कार्यक्रम अलपत्र परेकाे छ । आवास निर्माण सुरू भए पनि सर्वसाधारण जग हेरेर बस्न बाध्य छन् । साढे दुई वर्षदेखि थप काम भएकाे छैन । गौशाला नगरपालिका-४ मा मात्र ९१ वटा घर बनाउन सुरू भएकाे थियाे ।

सर्वसाधारणले नयाँ घर बन्ने आशामा भएको घरसमेत भत्काएका थिए । नयाँ घर नबन्दा उनीहरू अस्थायी टहरामा कष्टकर गुजारा गर्दै आएका छन् । काम भइरहदा एक्कासि राेकिँदा अलमलमा परेकाे सुनिल सादाले बताए ।

यता, जनप्रतिनिधिहरू भने कोरोनाको कारणले जनता आवास कार्यक्रम रोकिएको बताउँछन् । गौशला नगरपालिका-४ का वडा अध्यक्ष रामबाबु साहले दुई वर्षसम्म रोकिएको कामलाई निरन्तरता दिन सम्बन्धित् निकायलाई झक्झकाइरहेको बताए ।

‘अब काम अगाडि बढ्छ, इँट्टा र निर्माण सामग्री ल्याउने काम सुरू भएको छ’, अध्यक्ष साहले भने, ‘ढिलै भए पनि मुसहर समुदायका लागि गौशाला नगरपालिकामा मात्र ९२ वटा घर बन्नेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर