माओवादी केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने — OSNepal

माओवादी केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने

LC (KTM) December 31, 2021 0

काठमाडौं, १६ पुस – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने भएका छन् ।

पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।

’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,’ प्रचण्डले भने ।

माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदन पारित : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए । तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर