पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि — OSNepal

पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि

LC (KTM) January 01, 2022 0

पोखरा- सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जित्न सफल हुनुभएको छ ।कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडा माथि ६–३ र ६–४ को सोझो सेटमा जित निकाल्दै खड्का नेपालको शीर्ष वरियतामा उक्लिन सफल हुनुभयो । उपाधि विजेता खड्काले रु ८० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

गत महिना काठमाडौँमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसँग ६–३ र ६–१ अङ्कले पराजित हुनुभएको थियो । प्रतियोगितामा उपविजेता आरभले नगद रु ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । महिला एकलतर्फको उपाधि भने बिहीबार नेपालका शीर्ष वरियताका सलोनी तामाङले जित्नुभएको थियो । प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलतर्फको उपाधि सन्तोष खत्रीले हासिल गर्नुभयो । फाइनल खेलमा सन्तोषले भीष्म गुरुङलाई ६–० र ६–१ को सहज सेटमा पराजित गर्नुभयो । विजेता खत्रीले नगद रु ६० हजार तथा उपविजेता गुरुङले रु ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनुभयो ।

यसैगरी ४५ वर्षमाथिको एकलतर्फको उपाधि चन्द्र शाहीले हासिल गर्नुभयो । उहाँले विमलकुमार गुरुङलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्नुभएको हो । विजेताले नगद रु ४० हजार र उपविजेताले नगद रु २० हजारसहित ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नुभयो । ४५ वर्षमाथिको पुरुष ‘डबल्स’मा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो । हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । विजेताले नगद रु २० हजार तथा उपविजेताले नगद रु १० हजारसहितको पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा विभिन्न ११ विधामा १३० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर