गाउँपालिकाको केन्द्र जोड्ने सडकमा जोखिमपूर्ण यात्रा — OSNepal

गाउँपालिकाको केन्द्र जोड्ने सडकमा जोखिमपूर्ण यात्रा

LC (KTM) January 02, 2022 0

म्याग्दी, १८ पुस – मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडकको यात्रा जोखिमपूर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले यही पुस १३ गतेदेखि दरबाङ–धारापानी–ताकमहुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारीसाधन आवतजावत बन्द गरेका थिए । विकल्पका रुपमा सञ्चालन गरिएको दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडकअन्तर्गत मालिका र धवलागिरि गाउँपालिकाको सिमानामा पर्ने भारबाङस्थित म्याग्दी नदीमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको हो । गाउँपालिका र निर्माण कम्पनीले म्याग्दी खोलामा सातवटा ह्युम पाइप राखेका थिए ।

खोलाको पानी ह्युम पाइपभन्दा बाहिरबाट बगेको हुनाले जीप, बस, मोटरसाइकल र ट्र्याक्टर आवतजावत गर्न जोखिम भएको यातायात व्यवसायी ओम विकले बताउनुभयो । सवारीसाधनका इञ्जिन पानीमा डुब्ने र मोटरसाइकलाई खोलाले बगाउने खतरा रहेको उहाँले जानकारी दिनुभयो । भारबाङदेखि ताकम जोड्ने सडकमा ग्रेड र घुम्ती नमिलेकाले सवारी चलाउन अप्ठ्यारो भएको बस चालक रामजी थापाले बताउनुभयो ।

झारबाङ घाटमा पूर्वाधार विकास कार्यालयले ४० मिटर लामो पक्की पुल पनि निर्माण गरिरहेको छ । गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको दुई तर्फ पिल्लर मात्र ठडिएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले म्याग्दी खोलामा थप ह्युम पाइप राख्न, सडक मर्मत गर्न र मोटरबेल पुल निर्माणलाई पूर्णता दिन सम्बद्ध निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।

विसं २०७५ मा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुनसकेको थिएन । बर्खा अघिनै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते रु १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ । यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुई वटा घुम्ती थपेर करिब चार सय मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजनाअन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरबाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोला सम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाउने काम भइरहेको छ ।

दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले ‘क’ वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणाअनुसार यो आयोजना सञ्चालन भएको हो ।पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धारापानीसम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई आठ मिटर फराकिलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनाका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर