बेपत्ता परिवारका सदस्यलाई परिचय पत्र बाँड्दै आयोग — OSNepal

बेपत्ता परिवारका सदस्यलाई परिचय पत्र बाँड्दै आयोग

LC (KTM) January 02, 2022 0

ओखलढुंगा, १८ पुस – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जिल्लामा द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण गरेको छ । आयोगका पदाधिकारीहरूको उपस्थितिमा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका नजिकका हकदार तथा परिवारका सदस्यहरूलाई द्वन्द्व पीडित परिचय पत्र वितरण गरेको हो ।

ओखलढुंगामा शसत्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्ति २२ जना पहिचान भएका छन् । केही वर्ष पहिले उजुरी आह्वान गरेर आयोगले छानबिन गर्न अभिलेख तयार गरेको थियो । त्यसरी पहिचान भएका व्यक्तिका परिवारका सदस्य तथा नजिकका हकदारलाई परिचय पत्र वितरण गरिएको हो । देशभर २ हजार ५५५ जना बेपत्ता व्यक्ति रहेको आयोगका अध्यक्ष युवराज सुवेदीले बताए ।

उनले सञ्चारकमर्मीहरूसँग कुरा गर्दै द्वन्द्व पीडितलाई सबैले सकेको सहयोग सेवा सुविधा तथा राज्यafट परिपूरण हुनु पर्ने र उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरे । देशभर हालसम्म २ हजार ९३ लाई परिचय पत्र वितरण गरिएको पनि उनले जानकारी गराए । ओखलढुंगामा भने ८ घटनाका १० जना पीडितलाई जिल्लाबाट परिचय पत्र वितरण गरिएको छ भने अन्यलाई उनीहरूको अनुकूलतामा काठमाडौंबाट गर्ने तयारी भएको बताइएको छ ।

यसरी परिचय पत्र पाउने पीडितहरूलाई राज्यका निकायले स्वास्थ्य तथा शिक्षा रोजगारको सुनिश्चितता गर्न, आयकर, यातायातमा आधा छुट, सहुलियतपूर्ण व्याजमा ऋण तथा प्रदेश स्तरमा कम्तीमा १० र पालिका तहमा कम्तीमा २ जनालाई रोजगारीको सुनिश्चितता गर्न सरकारलाई सिफारिस समेत गरिसकेको छ । स्थानीय सरकार र प्रदेश सरकारले रोजगारी तथा आवासको व्यवस्था स्वास्थ्य शिक्षाको नि:शुल्क व्यवस्था गर्न अध्यक्ष सुवेदीले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर