OSNepal सोमबार, माघ ३ २०७८

पुष्कर भट्टले निर्देशन गरे हिन्दी गीत र अमेजनका लागि वेब सिरिज

पुष्कर भट्टले निर्देशन गरे हिन्दी गीत र अमेजनका लागि वेब सिरिज

  • OSNepal
  • सोमबार, पौस १९ २०७८


पुष्कर भट्टले निर्देशन गरे हिन्दी गीत र अमेजनका लागि वेब सिरिज
Reading Time: 2 minutes

एक समय नेपाली फिल्ममा खलपात्र (भिलेन) को भूमिकामा अत्याधिक रुचाइएका कलाकार हुन्, पुष्कर भट्ट । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिका निर्वाह गर्न साथ दिएको थियो । ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी फिल्ममा अभिनय गरेका उनले दुई दर्जन बढी भोजपुरी फिल्ममा पनि काम गरेका छन् ।

विगत केही वर्षदेखि क्यानडालाई कर्मथलो बनाउँदै आएका पुष्करले आफ्नो कलाकारिता यात्रालाई भने पूर्णविराम लगाएका छैनन् । नेपाल आउने क्रममा फिल्ममा अभिनय गर्दै आएका उनी अब आफ्नो परिचयको दायरा फराकिलो बनाउँदैछ । अभिनयमा प्रमाणित गरिसकेका उनले निर्देशनमा फड्को मारेका छन् । उनले हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।

उनी निर्देशित ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । भिडियोमा पुष्कर भट्ट आफैं फिचर छन् । भिडियोको सुरुवातमा फिल्मको झैं कथा बुनिएको छ । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामा प्रस्तुत छन् ।

भिडियोमा उनीसँगै भारतीय मुलका कलाकारहरु सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ । यूट्युब रिलिजको दुई दिनमा दुई लाखको आसपास भ्यूज बटुलेको गीतको भिडियोलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । पहिलो निर्देशित म्यूजिक भिडियोलाई मिलेको प्रतिक्रियाबाट आफू उत्साहित भएको पुष्करले बताए ।

गीतलाई दर्शकले रुचाएपछि पुष्करसहितको टिमले म्यूजिक भिडियोमा उठान गरेको कथामाथि वेब सिरिज बनाएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको वेब सिरिजलाई पुष्कर स्वयंले निर्देशन गरेका छन् भने मुख्य भिलेनको भूमिकामा उनी आफैं प्रस्तुत भएका छन् । ५ भागको वेब सिरिज बनाउन ठूलो खर्च भएको उनले जानकारी दिए ।

वेब सिरिजको बारेमा जानकारी दिँदै पुष्करले भनेका छन्, ‘म्यूजिक भिडियोमा मैले जुन कथा उठाएको छु, त्यसैमाथि वेब सिरिज बनाएका छौं । केही दिन अगाडि मात्र वेब सिरिजको ५ वटा भाग क्यानडामा छायांकन भएको छ । अब त्यसको सम्पादन कार्य सकेर अमेजनलाई पठाउने तयारीमा छौं । अमेजनले मन पराएको खण्डमा वेब सिरिजको अन्य भागहरु पनि निर्माण हुनेछ ।’

‘जिल्ला मुरादाबाद’ गीतका गायक प्रिन्स आनन्दले नै वेब सिरिजको निर्माणसँगै मुख्य नायकको रुपमा अभिनय गरेका छन् । क्यानडामा व्यापार व्यवसायको क्षेत्रमा ठूलो साम्राज्य बनाएका उनले नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने- ‘पुष्कर जीसँग म्यूजिक भिडियोपछि वेब सिरिजमा सहकार्य गर्न पाएँ । चाँडै अरु काममा पनि हामीबीच हातेमालो हुनेछ ।’

कलाकार भट्ट सन् २०२० मा महंगो गाडीमा पर्ने ‘लङम्यान्स् किया’ मोटरको क्यानडा ब्रान्ड एम्बास्डरमा नियुक्त भएका थिए । नेपाली कलाकारको यो सफलता देखेर प्रिन्स आनन्दले आफ्नो टेलिभिजन ‘विएम प्राइम’ मा उनलाई अन्तर्वार्ताका लागि बोलाएका थिए । त्यसै क्रममा उनीहरुबीच चिनजान भएको थियो । पुष्करले प्रिन्स आनन्दसँग चाँडै अन्य कार्यमा पनि सहकार्य हुने बताए ।
भिडियो :-

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड