OSNepal आइतबार, माघ ९ २०७८

लकडाउनले जुराएको तनहुँका सुनिलको रहरलाग्दो कालिजपालन

लकडाउनले जुराएको तनहुँका सुनिलको रहरलाग्दो कालिजपालन

  • OSNepal
  • सोमबार, पौस १९ २०७८


लकडाउनले जुराएको  तनहुँका सुनिलको रहरलाग्दो कालिजपालन
Reading Time: 2 minutes

तनहुँ, १९ पुस -लकडाउनको समस्यामा पर्नुभएका तनहुँका एक युवक गाउँमा फर्किएर व्यावसायिक रुपमा कालिज पाल्न थाल्नुभएको छ । बन्दिपुर गाउँपालिका–४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले गत वैशाख महिनादेखि कालिजपालन गर्नुभएको हो । आवश्यक भौतिक संरचना निर्माणलगायतका गरी करिब डेढ करोड लगानीमा श्रेष्ठले कालिज पाल्न थाल्नुभएको हो ।

काठमाडौँमा बेकरी पसल सञ्चालन गर्नुभएका श्रेष्ठले कोरोनाको सङ्क्रमण फैलिएपछि लगाइएको निषेधाज्ञाले बाँच्न गाह्रो बनाएपछि गाउँ फर्किएर कृष्णको ज्ञान एकीकृत कृषि फार्म दर्ता गरी व्यवसाय सुरुआत गर्नुभएको हो । गाउँमा रहेको करिब नौ रोपनी बाँझो जग्गामा पोखराबाट प्रति चल्ला रु आठ सयका दरले खरिद गरी दुई हजार चल्ला व्यवसाय सुरुआत गर्नुभएका श्रेष्ठले अहिले धमाधम बिक्री गर्न थाल्नुभएको छ ।

साना चल्ला हुँदा जोगाउँन कठिनाई भयो । केही चल्ला मरेको पनि उहाँले सुनाउनुभयो, “केही बिक्री गरेर पनि अझै एक हजार ४०० कालिज फार्ममा रहेका छन् ।” भाले बिक्री गरिए पनि पोथी अण्डाको लागि राख्ने गरिएको छ । अहिले फार्ममा एक दिने चल्लादेखि एक महिनासम्मका कालिजको चल्ला रहेको छ । प्रति चल्ला रु ४०० देखि ५०० सम्म बिक्री हुन्छ ।

कालिज पाल्ने किसानको लागि आवश्यक तालिमको पनि व्यवस्था रहेको श्रेष्ठले बताउनुभयो । बस्ने घर, कम्पाउण्ड तारबार र फार्मसम्म जाने सडक निर्माणलगायतका भौतिक संरचना निर्माण गर्दा करिब रु डेढ करोड लगानी भएको श्रेष्ठ बताउनुहुन्छ । करिब डेढ किलोको कालिज प्रति गोटा रु तीन हजारमा बिक्री गर्ने गरिएको छ ।

उहाँले भन्नुभयो “कसैले भालेपोथी लैजाने चाहेमा रु सात हजारमा बिक्री गर्ने गरिएको छ ।” पालेको ६ महिनामा कालिज खान योग्य हुन्छ । फार्ममै कालिजको मासु, परिकार, खाना र खाजाकोसमेत व्यवस्था मिलाइएको छ । कालिज स्थानीयस्तरमै खपत हुने गरेकोले बिक्रीको कुनै समस्या नभएको श्रेष्ठ बताउनुहुन्छ । जिल्लाको आँबुखैरेनी, डुम्रे, बन्दिपुर र छिमेकी जिल्ला गोरखामा बिक्री हुर्दै आएको उहाँले बताउनुभयो । कालिज फार्म सुरु गरेदेखि घरका बुबाआमा, श्रीमती र आफू गरी सबै जनाले रोजगारी पाएको उहाँ बताउनुहुन्छ ।

लकडाउनका कारण जीवन धान्न धौधौ भएपछि गाउँ फर्किएको बताउँदै श्रेष्ठले गाउँमा बाँझो रहेको जमिनमा कोही गरौं भन्ने सोचका साथ कालिजपालनमा लागेको जानकारी दिनुभयो । सुरुको दुई महिनाजति खोरमा राखेर पाल्ने र त्यसपछि खुला चौरमा छाडेर पाल्ने गरिएको छ । कालिजको मासु वृद्वबवद्वा, बालबालिका, गर्भवती, सुत्केरीलगायत जुनसुकै बिरामीले पनि खानयोग्य मानिन्छ । –

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड