लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता — OSNepal

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

LC (KTM) January 04, 2022 0

देउखुरी, २० पुस -आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला अदालत घोराहीमा मनोनयनका लागि स्थान र समय तोकिएको थियो ।सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रलक्ष्मी गैरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । जनमोर्चाका तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराएको अधिकृत थापाले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती उपाध्याय र दलिततर्फ गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लुम्बिनीबाट तीन जनाको पदावधि सकिँदैछ । महिलामा कोमल वली, अन्यमा दुर्गनारायण पाण्डेय र दलितमा रामलखन चमारको स्थानमा पदपूर्ति गर्न निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले जानकारी दिनुभयो । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन लागेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशको निर्वाचन घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । लुम्बिनी प्रदेशसभाका प्रदेशसभा सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख गरी २१५ गरी २९६ मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभा निर्वाचन ऐनको दफा पाँचमा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर