बेलायती महारानी एलिजाबेथ राजा वीरेन्द्रलाई उपहार दिएको बग्गी प्रदर्शनीमा — OSNepal

बेलायती महारानी एलिजाबेथ राजा वीरेन्द्रलाई उपहार दिएको बग्गी प्रदर्शनीमा

LC (KTM) January 06, 2022 0

काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । प्रदर्शनी उद्घाटन गर्दै सचिव कोइरालाले नेपालको शाहकालीन इतिहास बोकेको सबै सम्पत्ति प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘अन्य ऐतिहासिक सामग्री पनि प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।’

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी राखिएको जानकारी गराउनुभयो । उहाँले स्वर्गीय राजा वीरेन्द्रले विसं. २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गर्नुभएको बताउँदै शाहकालीन राजपरिवारले प्रयोग गरेको अन्य सामग्रीहरू पनि चरणबद्ध रुपमा प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो । विसं. २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो ।

नारायणहिटी हत्याकाण्डमा मृत्यु भएका राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारीसाधन प्रदर्शनीमा राखिसकेको छ ।नेपाल समाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर