३५ बर्षदेखि जङ्गलमा दिन काट्दै आएका वादी समुदायले पाए नयाँ घर — OSNepal

३५ बर्षदेखि जङ्गलमा दिन काट्दै आएका वादी समुदायले पाए नयाँ घर

LC (KTM) January 06, 2022 0

अर्घाखाँची, २२ पुस- पैतीस वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसी भएका छन् । गरिबीका कारण त्रिपालले छाएको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीका बादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएपछि नयाँ घरमा बस्न पाउँदा उनीहरु खुशी भएका हुन् ।

चुत्राबँेसीमा बस्दै आएका वादी समुदायका ११ घर परिवार र सोही ठाउँमै सँगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएपछि उनीहरु खुसी छन् । “बर्खाको समय राति सुतिरहेको बेला पानी चुहिएर शरिर लुथ्रुक्कै भिजेको हुन्थ्यो, कति रात त पानी परेर ननिदाइकनै उज्यालो हुन्थ्यो”, सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले भन्नुभयो, “कपडा भिजेर अर्को कपडा फेरि रातभर जागराम बस्थ्यौँ अब त ढुक्क भएर रातभर सुत्न पाइने भयो, औधि खुसी लागेको छ ।”

प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत रु ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार रु ४३ लाख ६८ हजार खर्चेर १३ घर निर्माण गरिएको प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताउनुभयो । लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाएकामा आफूलाई निकै आन्नदित महसुस गरेको नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जनता आवास दुवै कार्यक्रममार्फत आवासको व्यवस्थापन गरिएको हो । पक्की घर निर्माण गरेपछि उनीहरुलाई सजिलो भएको छ । उक्त घरपरिवारलाई सामूहिकरुपमा लालपुर्जासमेत प्रदान गरिएको नगर प्रमुख भुसालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर