सुनसरी एमालेमा भण्डारीलाई छेक्न यस्ताे रणनीति, को कति बलियो ? — OSNepal

सुनसरी एमालेमा भण्डारीलाई छेक्न यस्ताे रणनीति, को कति बलियो ?

LC (KTM) January 07, 2022 0

सुनसरी, २३ पुस । नेकपा (एमाले) सुनसरीकाे जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि आकांक्षी बढेका छन् ।

अध्यक्षका लागि यसअघि तीन जनाले मात्रै दाबी गरिरहे पनि थप एक जना बढेका छन् । अध्यक्षमा दाबी गर्नेमा पूर्वसंविधानसभा सदस्य रेवती रमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी छन् । प्रदेश सदस्य तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँले पनि अध्यक्षमा दाबी गरेका छन् ।

नेतृत्व चयनका लागि सहमतिको बाटो खाेजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको छ । नेतृत्व लिन तयार रहेकामध्ये चौधरी, पोखरेल, भण्डारी जिल्ला पदाधिकारीमा बसेर काम गरिसकेका छन् भने चौंलागाई नयाँ अनुहार हुन् ।

को कति बलियो ?

वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेलले सहमतिबाटै आफू पुन: नेतृत्वमा दाेहाेरिन चाहेका छन् । यसअघि उपाध्यक्ष भइसकेका पोखरेललाई भीम आचार्य पक्षले सहयोग गरेको छ ।

तत्कालीन नेकपा विभाजित भएसँगै एमाले हुँदा केपी ओली पक्षले रेवती रमण भण्डारीलाई जिल्ला अध्यक्ष बनाएको थियो । तर पार्टी भित्रैका माधव नेपाल पक्ष र ओली पक्षकै केही नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न नसकिने भन्दै लामो विवाद भएको थियो ।

त्यसपछि सर्वसहमतिमा जिल्ला अध्यक्षको जिम्मेवारी पोखरेलले लिएका थिए । अहिले कार्यकर्ताले रुचाएको अर्थमा पोखरेलले अध्यक्ष दाबी गरेका हुन् । दुवै पक्षबाट उनलाई राम्रो समर्थन पाएका छन् ।

पार्टीभित्र विवादित छवि बनाएका पूर्वजिल्ला अध्यक्ष तथा इटहरी मेयर द्वारिकलाल चौधरी पनि आकांक्षी हुन् । छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका उनी स्थानीय तहको निर्वाचनमा पार्टी उपाध्यक्ष रमेश बस्नेतलाई कार्यवाहक दिएर चुनावमा टिकट पाएका थिए । एमालेको राम्रो पकड रहेको इटहरीमा उनले चुनावसमेत जिते ।

तर जनप्रतिनिधि भएसँगै चर्को आलोचित बनेका मेयर जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै पार्टीमा फर्किएर सक्रिय राजनीति गर्ने तयारीमा छन् । पार्टीको १० औँ महाधिवेशन प्रतिनिधि भएका चौधरी केन्द्रीय सदस्यमा नपरेपछि उनी जिल्लामै रहने अवस्थामा पुगेका छन् ।

कार्यकर्ता बीच खासै जनमत नभएका चौधरी आफैँलाई रुचाउने धेरै भएको दाबी गर्छन् । चौधरीले अध्यक्ष नै हुनु पर्छ भनेर लागेका भने पक्कै हैनन् । उनी रेवती रमण भण्डारीले अध्यक्षमा उठ्ने देखिएपछि उनलाई अध्यक्ष हुन नदिनकै लागि पनि उमेद्वारी दिन लागेका हुन् ।

यसअघि इनरुवामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष पदका लागि विवाद बढ्दै गएपछि उनले स्टेजमै पुगेर माइक खोसेका थिए । भण्डारीलाई त्यति मन नपराउने चौधरी अध्यक्षमा पोखरेल आएमा छोड्न समेत तयार रहेको स्राेतले बतायो ।

अर्का आकांक्षी हुन्, पार्टीका प्रदेश कमिटी सदस्य तथा इटहरी खानेपानी संस्थाको अध्यक्षमा बसेर १८ वर्ष काम गरेका रामप्रसाद चौलागाईँ । सुनसरीमा केपी ओली पक्षका पुराना नेताको रूपमा चिनिएका चौलागाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको मेयर पदका लागि आकांक्षी थिए ।
मेयरको टिकट नपाएपछि पार्टीको भूमिकामा नरहेका उनी जिल्ला नेतृत्वको आकांक्षी देखिएका हुन् ।

कुनै समय सार्वजनिक जग्गामा घर बनाएको भन्दै इटहरीका मेयर चौधरीको निसानामा परेका चौलागाईँ अहिले भने उनै चौधरीको नजिकका नेतामध्ये एक हुन् । उनी पनि पोखरेल भए अन्तिम समयमा मान्न तयार छन् । तर भण्डारीलाई अध्यक्ष नबनाउने रणनीतिमा छन् ।

अर्का आकांक्षी हुन् सबैको निसानामा परेका र केन्द्रका नेतासँग राम्रो सम्बन्ध भएका संविधानसभा सदस्य रेवतीरमण भण्डारी । तत्कालीन नेकपाभित्र विवाद उत्पन्न हुँदा केपी ओली पक्षले एक वर्ष अघि जिल्ला अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले नै रहने व्यवस्था गरेपछि पार्टीले २०७५ जेठ २ मा फर्किने निर्णय गरेको थियो ।

माधव पक्ष नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न तयार नभएपछि उनले छोडेका थिए । उनलाई अध्यक्ष बनाउन ओली पक्ष नै तयार छैन । मन पर्दा सक्दो सहयोग गर्ने, मन नपरे वास्तै नगर्ने प्रवृत्तिका कारण आफ्नै कार्यकर्ताबाट घेराबन्दीमा पर्दै आएका छन् । तर केन्द्रका नेताहरू भने उनलाई अध्यक्ष बनाउन लागि परेका छन् । पार्टीलाई संकट पर्दा सहयोग गरेको भन्दै नेताहरू सहमतिमा उनैलाई अध्यक्ष बनाउन लागि परेको स्राेतको भनाई छ । उनी स्थानीय तहको चुनाव सम्म माधव नेपाल पक्ष मानिएका थिए । जिल्लामा भीम आचार्यले टिकट नदिएकै कारण उनी ओली खेमा तिर देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर