कमल थापालाई लाग्यो अहिलेसम्मकै कडा झड्का — OSNepal

कमल थापालाई लाग्यो अहिलेसम्मकै कडा झड्का

LC (KTM) January 08, 2022 0

हेटौंडा, २४ पुस – राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ ।

राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुले प्रतिनिधिमुलुक भेलाले महाधिवेशनको बिषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निश्कर्ष निकालेका छन् ।

केन्द्रीय महाधिवेशन पछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैली बारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरुप हिड्ने धारणाको साथ अघि बढ्ने भएका छन् । हेटौंडामा आयोजित भेलामा पार्टीको बिचार सिद्धान्त प्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टी बिरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेका छन् । उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ ।

पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ । पार्टीलाई एकताबद्ध गरेर बिचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारीले दिए । यसले राप्रपाका नेताहरु एकजुट भएर पार्टीको विधि र परिधिभित्र रहेर अघि बढ्ने संकेत दिएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिवराम थापा, प्रदेश सदस्यहरु धुर्व सन्जेल, गुन्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश ‘ख’ का अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिकाका अध्यक्ष नरहरि महतलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर