लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्याे, आम्दानी पनि साढे तीन करोडमा सीमित — OSNepal

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्याे, आम्दानी पनि साढे तीन करोडमा सीमित

LC (KTM) January 09, 2022 0

लमजुङ,- लमजुङमा यसवर्ष अलैंची उत्पादन घटेकाे छ । करिब ८५ प्रतिशत उत्पादन घट्दा ३५ टनमा सीमित भएकाे छ । अलैंची विक्रीबाट किसानले ३ करोड ५० लाख आम्दानी गरेका छन् ।

गत वर्ष लमजुङमा ४ सय टन अलैँची उत्पादन भएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार गतवर्ष लमजुङका अलैंची किसानले ४ सय टन अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । जिल्लामा खडेरी, सिंचाइको कमी र रोग प्रकोपका कारण यसवर्ष उत्पादनमा भारी गिरावट आएको हो ।

लमजुङमा १ हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिए पनि खडेरी र रोग प्रकोपका कारण ६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र अलैंची उत्पादन भएको छ । अलैंचीको मूल्य हाल १ हजार १ सय ५० मा बिक्री भएको छ ।

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँका पाखामा व्यावसायिक रुपमा अलैँचीखेती गरिँदै आएको छ ।

जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम सुरु गरिएको छ । जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैंची खेती गरिँदै आएको छ । जिल्लामा १५ हजार कृषकले व्यवसायीक अलैँची खेती गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर