एमाले सुनसरीमा सहमतिकाे ढाेका लगभग बन्द, अध्यक्षमा पाेखरेल, चाैधरी र भण्डारीमध्ये कसले मार्ला बाजी ? — OSNepal

एमाले सुनसरीमा सहमतिकाे ढाेका लगभग बन्द, अध्यक्षमा पाेखरेल, चाैधरी र भण्डारीमध्ये कसले मार्ला बाजी ?

LC (KTM) January 10, 2022 0

सुनसरी, २६ पुस-जिल्ला अधिवेशनकाे चार दिनसम्म नेकपा (एमाले) सुनसरीले नयाँ नेतृत्व चयन गर्न सकेकाे छैन ।केन्द्रले सहमतिबाटै नयाँ नेतृत्व छान्न निर्देशन दिए पनि तीन जना आकांक्षी टसमस नहुँदा सर्वसहमतिको बाटो लगभग बन्द भएको छ । सहमतिकाे प्रयास सफल हुन नसकेपछि जिल्ला अध्यक्षका लागि खेमराज पोखरेल, द्वारिकलाल चौधरी र रेवतीरमण भण्डारीले आइतबार निर्वाचन समितिमा मनोनयनसमेत दर्ता गरेका छन् ।

सुनसरीसहित देशका ६१ जिल्लामा २४ पुसमा अधिवेशन सुरु भए पनि धेेरै जिल्लामा सहमतिकै आधारमा नयाँ कमिटी चयन भसक्दा यहाँ बल्ल चुनावकाे तयारी हुँदैछ ।

यद्यपि, सर्वसहमतिका लागि आज साेमबार एक दिनको समय दिइएको छ । सहमति नभए मंगलबार पदाधिकारीसहितको चुनाव हुनेछ । अध्यक्षसहित १ सय ३५ पदका लागि ३ सय ६० जनाले मनोनयन दर्ता गराएका छन् ।

कसलाई कसकाे साथ ?

भीम आचार्यसहित १० बुँदे कार्यान्वयनको आवाज उठाउने नेताहरूको समर्थन पोखरेललाई छ । भण्डारीलाई एमाले अध्यक्ष केपी ओली पक्षको साथ छ भने चाैधरीले पार्टी भित्रको लाइनभन्दा फरक ढंगबाट उम्मेदवारी दिएका छन् ।

कसले मार्ला बाजी ?
तीनै जना पार्टीको संस्थापन पक्षका हुन् । भण्डारी यसअघि संविधानसभा सदस्य तथा पार्टीको जिल्ला अध्यक्ष भएर काम गरी सकेका नेता हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा फुट हुँदा भण्डारीले ओली पक्षबाट एमाले सुनसरीको नेतृत्व गरेका थिए ।

करिब ९ महिना पार्टी चलाउँदा उनले जिल्लामा ओली पक्षलाई मजबुत बनाएका थिए । १० बुँदे कार्यान्वयनको वकालत गर्दै आएका भीम आचार्य पक्षले भण्डारीलाई अध्यक्ष मान्न नसकिने दबाब बढाउौै गएपछि उनी अध्यक्षबाट हटेका थिए । जिल्लामा उनको राम्रो पकड देखिएको छ ।

उनी संगठन निर्माणमा जिल्लाको दक्षिणी भूगोल देवागञ्ज, हरिनगरा, भोक्राहा, कोशी गाउँपालिकाबाट राम्रो साथ पाएका छन् । वराहक्षेत्रमा पनि उनको राम्रो जनमत छ । उपाध्यक्षका उमेदवार निलम खनाल पनि उनकै पक्ष भएकाले वराहक्षेत्रमा भण्डारीको मत रहेको एक नेताले बताए ।

सबै भन्दा धेरै प्रतिनिधि भएको इटहरीमा पनि उनको राम्रो जनमत देखिएको ती नेताले बताए । तर, धरानमा भने अन्य क्षेत्रको तुलनामा कमजोर देखिएका छन् । तत्कालीन नेकपा विभाजित हुँदा माधव नेपाल पक्ष बलियो रहेको धरानमा पार्टी नगर अधिवेशन हुँदा पनि ओली पक्ष र १० बुँदे वकालत गर्ने नेताहरूले छुट्टाछुट्टै अधिवेशन गरेका थिए ।

उक्त विवादलाई जिल्ला कमिटीले टुङ्ग्याएको थियो । सोही क्रममा प्रतिनिधि छनाेटमा भीम आचार्य पक्षका नेता बढी छन् । जसको असर भण्डारीलाई पर्ने देखिएको छ ।

अध्यक्षका अर्का उम्मेदवार पोखरेल पनि ओली पक्षका पूराना नेता हुन् । उनलाई भीम आचार्यको साथ छ । जिल्ला अध्यक्षमा आचार्य पक्षका कोही नेता उठ्ने नदेखिएपछि उक्त पक्षले पोखरेललाई सहयोग गर्ने देखिएको हो ।

यसअघि जिल्ला उपाध्यक्ष भइसकेका पोखरेल १० बुँदे कार्यान्वयनको वकालत गर्ने नेता हुन् । याे समूहले भण्डारीलाई अध्यक्ष मान्न तयार नभएपछि पोखरेल अध्यक्ष बनेका हुन् ।

जिल्लामा कमजोर बन्दै गएका आचार्य पोखरेललाई अध्यक्ष बनाउन सके आफ्नो राजनीतिक यात्रा फराकिलो हुने आँकलन गर्छन् । पोखरेललाई धेरै प्रतिनिधि भएको धरानको साथ छ । पोखरेल र आचार्यको गृह नगर इनरुवा हाे ।

भण्डारीसँग असन्तुष्ट नेताको साथ पाएका उनी एमाले सुनसरीको नेतृत्व लिने दाउमा छन् । उनलाई केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज भगवती चौधरी पाटी स्थायी कमिटी भीम आचार्यले समर्थन गरेका छन् ।

पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरका मेयर चौधरी पनि अध्यक्षमा भिड्दै छन् । ओली पक्षबाट भण्डारी र आचार्यबाट पोखरेलले साथ पाएपछि उनी स्वतन्त्र सरह मैदानमा उत्रिएका छन् ।

पार्टीको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने नपाएका चौधरी पार्टीमा सम्मानजनक हैसियत खोजिरहेका छन् । कहिले विपक्षी दलका नेतालाई घरमा ल्याएर भोजन गराउने त कहिले सामान्य गतिविधिमा पार्टीलाई देखाउन विपक्षीसँग मिलेजस्तो गर्ने चौधरीले अध्यक्ष दाबी गरेका हुन् ।

विभिन्न विवादका कारण माथिल्ला नेताको साथ नपाएका चौधरी चुनावी मैदानमा गए सीमित मत आउने देखिएको छ । उनले इटहरी भूगोल र चौधरी समुदायको केही मत, भण्डारी र पोखरेललाई समर्थन नगर्ने प्रतिनिधिको मत पाउने देखिएको छ ।

भण्डारीले पोखरेललाई नेतृत्व छाडिदिए चौधरी पनि छोड्न तयार छन् । भण्डारीको विरोधमा देखिएका उनी भण्डारीले नछोडे आफू पनि चुनावमा होमिने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर