किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा मर्कामा इलामका किसान — OSNepal

किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा मर्कामा इलामका किसान

LC (KTM) January 10, 2022 0

मङ्गलबारे इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले जिल्ला तथा जिल्ला बाहिरका किसानले खरिद नगरेपछि किसान मर्कामा परेका हुन् । आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्य भएका कारण किसान कुन पसलबाट बीउ किन्ने भन्ने अन्योलमा छन् ।

विगतका वर्षमा लेकाली क्षेत्रका किसानले जिल्लाका तल्लो क्षेत्रका किसानलाई राम्रो मूल्यमा आलुको बीउ बिक्री गर्ने गरेको भएपनि यसवर्ष बिक्री नहुँदा किसानको गोदाममा बीउ थन्किएको छ । गत वर्ष प्रतिकिलो रु २२५ मा बिक्री भएको बीउ यस वर्ष फाट्टफट्ट रुपमा मात्र बिक्री भएको छ । गत वर्ष यहाँको बीउ भारततर्फ निकासी हुँदा किसानले उच्च मूल्य पाएका थिए । यसवर्ष भारतबाट व्यापारी नआएपछि थोरै मात्रामा बीउ बिक्री भएको र त्यो पनि गतवर्षभन्दा न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानको भनाइ छ । गत वर्षजस्तै यो वर्षपनि उच्च मूल्य पाउने आशमा किसानले गोदाममै बीउ राखेको थियो । तर यो वर्ष अत्यन्त न्यून मूल्यमा आलुको बीउ बिक्री हुन थालेपछि किसान मर्कामा परेको माईजोगमाई गाउँपालिका–६ का कुमार राईले बताउनुभयो । उहाँले यसवर्ष पनि विगतजस्तै महँगो मूल्यमा बिक्री हुन्छ भनेर बीउ राखेको भए पनि आलु रोप्ने समय बित्नै लाग्दा पनि बीउ बिक्री हुन सकेको छैन ।

लेकमा पुस १५ देखि आलु रोप्न सुरु हुन्छ । किसानले बीउको भाउ आउने आशाले असार–साउनमा खनेको आलु बीउ बिक्री नगरी राखेका छन् । तर अहिले भाउ नआएपछि उनीहरुलाई आलुको बीउ निल्नु न ओकल्नु जस्तै भएको छ । आलुको बीउ रोप्ने पर्याप्त ठाउँ नहुँदा बीउलाई के गर्ने भन्ने चिन्ता किसानलाई छाएको छ । सो क्षेत्रका किसानले घरखर्च चलाउने र अन्य काम गर्ने गरी आलु रोप्दै आएका छन् । अधिकांश किसानले एक क्विन्टलभन्दा बढी नै बीउ राखेको बताइएको छ ।

भारतीय सीमावर्ती बजारबाट आलुको बीउको आयातमा रोक लगाएपछि यहाँको स्थानीय बजारमा यसको मूल्य न्यून भएको किसानको गुनासो छ । यहाँका स्थानीय बजारमा अहिले उन्नत आलुको बीउ प्रतिकिलो रु एकसय ९० देखि दुई सयसम्म बिक्री भइरहेका छन् । गतवर्ष यही समयमा आलुको बीउ प्रतिकिलो रु दुई सयदेखि २२५ सम्म रहेको थियो । प्रायः बीउ नै बिक्री गर्ने गरी सो क्षेत्रका किसानले १० हजार किलोग्रामदेखि १२ हजार किलोग्राम सम्म आलु उत्पादन गदैै आएका छन् ।

तरकारीका लागि भन्दा बीउको लागि बिक्री गर्न पाउँदा राम्रो मूल्य हातपर्ने भएकाले धेरै लेकाली किसानको बीउमा नै जोड दिने गरेको बताइएको छ । इलामको माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाको माथिल्लो चिसो ठाउँमा आलुखेती धेरै गरिन्छ । ती भेगका किसानले आलु खेतीबाटै वर्षभरिको घर खर्च टार्दै आएका छन् । कृषि अनुसन्धान केन्द्र जौबारीमा यो वर्ष उन्नत जातका बीउ आलुको उत्पादनमा वृद्धि भएको छ । आलुको बीउ उत्पादनमा वृद्धिसँगै इलाम जिल्लामा बीउ आलुको समस्या हटेको छ ।

उत्पादित बीउ आलु नविकेपछि दुई टन आलु केन्द्रमा भण्डार गरिएको छ । केहीवर्ष अगाडि मात्र इलाम जिल्लामा आलु रोप्ने सिजनमा बीउ आलुको हाहाकार हुने गरेको थियो । तर इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले बीउ आलुको समस्या हटाउन आलुको उत्पादनलाई प्राथमिकता दिएको छ । बीउ आलुमा इलाम जिल्ला आत्मनिर्भर भई माग भन्दा धेरै उत्पादन हुन थालेको छ । केन्द्रमा बीउ आलुको माग गर्ने किसानको सङ्ख्या घटेको आलु विकास केन्द्र जौबारीका प्रमुख जनार्दन गौतमले बताउनुभयो ।

केन्द्रले यो वर्ष १४ टन बीउ आलु उत्पादन गरेको थियो । यस्तै केन्द्र अन्तर्गतकै कालिकादेवी कृषि सहकारी संस्थाले ४० टन बीउ आलु उत्पादन गरेको छ । उत्पादन लिन सकिने जनकदेव, डेजिरे, खुमल सेतो र खुमल उज्वल समेत उन्नत जातका आलु रोपणलाई प्रोत्साहन गरिएका कारण यसवर्ष बढी बीउ उत्पादन भएको केन्द्रको दाबी छ । समुदायस्तरमा उत्पादित आलुको बीउ बाहेक केन्द्रले बीउ आलु बिक्री गरेर यो वर्ष ११ लाख ५० हजार राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । स्थानीय जातका आलु उत्पादन कम हुने भएकाले उन्नत जातका आलु रोपेर बढीभन्दा बढी उत्पादन लिन केन्द्रले सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर