युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्ला, दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किए — OSNepal

युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्ला, दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किए

LC (KTM) January 10, 2022 0

काम्पाला, २६ पुस -युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् ।विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो । युगाण्डामा कोरोनाभाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द भएकोमा सोमबारदेखि खुल्ला भएको अधिकारीहरूले जनाएका छन् । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो ।

विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् । “विद्यालयमै उपस्थित भएर पढ्न पाउँदा मलाई धेरै खुशी लागेको छ, विगतमा विद्यालय बन्द हुँदा मैले विद्यालयमा उपस्थित भएर पढ्न पाएको थिएन भने मेरा साथी, शिक्षकशिक्षिका र मेरो पढाइ गुमाएको थिएँ,” १० वर्षीय विद्यार्थी नाविलाह सेन्कुगौले भन्नुभयो । विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षकशिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए ।

विश्वका धेरै देशमा कोरोनाभाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् । युगाण्डामा अहिलेसम्म एक लाख ५३ हजार ७६२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ३३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर