काठमाडौँ उपत्यकामा ४८ वटा पार्क बन्दै — OSNepal

काठमाडौँ उपत्यकामा ४८ वटा पार्क बन्दै

LC (KTM) January 13, 2022 0

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो ।

प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताउनुभयो ।

५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ । योजना महाशाखा प्रमुख ढकालले काठमाडौँको लैनचौरमा शहीद पार्क, बूूढानीलकण्ठमा गिरिजाप्रसाद पार्क र आमनगर पार्क, शङ्खरापुर–८ मा शान्ति पार्क, कीर्तिपुर–२ मा बालबालिका पार्क र चम्पादेवी पार्क तथा कागेश्वरी मनहरा–७ को कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो । यो खरब आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका–२१ को सिकाली मन्दिर परिसरमा पार्क निर्माण, ललितपुर–२२ मा बुङ्मती पार्क निर्माण र गच्चा पार्क निर्माण तथा ललितपुर–२५, भैँसेपाटीको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गरिनेछ ।

भक्तपुरको सूर्यविनायक–५ मा गणेशमान वाटिका निर्माण, सल्लाघारीमा एउटा, सूर्यविनायक–४ मा अनन्त लिङ्गेश्वर महादेव खोलापार्क र चाँगुनारायण–५ मा नागथली कृष्ण मन्दिर पार्क निर्माण गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर